जुवातास खेल्दै गरेका ११ जना नगदसहित पक्राउ



वीरेन्द्रनगर ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ स्थित खजुरा क्षेत्रबाट जुवातास खेल्दै गरेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ ६ः३० बजेको समयमा रुद्रप्रसाद खनालको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । बुधबार साँझ पक्राउ परेका उनीहरूलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने व्यक्तिहरूमध्ये घरधनी ५१ वर्षीय रुद्रप्रसाद खनालसहित ५५ वर्षीय दुर्गबहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगतबहादुर राना, ५३ वर्षीय सुरतबहादुर शाही, ४० वर्षीय बिरजंग शाही, ५५ वर्षीय रेशम मल्ल, ४५ वर्षीय रमेश खाँण, ३९ वर्षीय दानबहादुर सिंह, ४३ वर्षीय अशोककुमार खड्का र ४८ वर्षीय बिनोद मल्ल रहेका छन् ।

छापाको क्रममा प्रहरीले आठ बुक ४३ पत्ती तास (खोलेको), नगद ५८ हजार ९ सय ४० रूपैयाँँ र ९ थान मोबाइल फोन बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरी प्रवक्ता मोहनजंग बुढथापाले बताए ।प्रहरीका अनुसार जुवा र सट्टेबाजीसम्बन्धी गतिविधि नियन्त्रण गर्न निगरानीलाई अझ सशक्त बनाइएको छ । पछिल्ला दिनमा जुवातासका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले समुदायको सहयोगमा निगरानी र कारबाही दुवैलाई तीव्र बनाएको बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार