प्रजिअ र नागरिक समाजबीच विवादको समाधान निकाल्नुपर्नेमा जोड



नेपालगन्ज ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र नागरिक समाजबीच उत्पन्न विवादको समाधानतिर लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका केही अभिव्यक्ति र व्यवहारका सम्बन्धमा असन्तुष्टि जनाउँदै बाँकेका नागरिक समाजका प्रतिनिधिहरूले गृहमन्त्रीलाई गुहारेपछि जिल्लास्थित कर्मचारीका ट्रेड युनियनहरू जोशीको प्रतिरक्षामा उत्रिएका थिए ।

त्यसपछि शुक्रबार बसेको जिल्लाका विभिन्न राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरूको छलफलले प्रजिअले जिल्लावासीहरूलाई एकआपसमा जोड्ने भूमिकातिर अग्रसर हुनुपर्ने निष्कर्ष निकालेका छन् । नेपालगन्जस्थित जिल्ला बार एसोसियसनको हलमा शनिबार भएको छलफलमा सहभागिहरूले प्रजिअले जिल्लावासीहरूलाई एकआपसमा जोड्ने, नागरिक समाजका जायज चासोको सम्बोधन गर्नतिर पहल गर्ने र सहज संवादको स्थिति बनाउने अपेक्षा गरिएको बताएका थिए ।

नागरिक समाजका प्रतिनिधिहरूको प्रजिअसँगको अनुभव सुनिसकेपछि कार्यक्रममा सहभागी नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, सचिव सुधांशु कोइराला, नेकपा एमालेका प्रतिनिधि दत्तप्रसाद आचार्य, एकीकृत समाजवादीका प्रतिनिधि अब्दुल हुसेन खान लगायतले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर प्रजिअले नै निकासको वातावरण बनाउनुपर्ने बताए ।

यस सम्बन्धमा जिल्लाका सबै राजनीतिक दलहरूको साझा धारणा बनाउने र प्रजिअसँग संवाद गरी उपयुक्त निकासको लागि पहल गर्ने उनीहरूले प्रतिबद्धता पनि जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार