मधुर पौडेल । बाँसगढी (बर्दिया) ।
बाँसगढी प्रिमियर लिग (बिपिएल)अन्तर्गत बिहीबार दुई वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा बाँसगढी राइनोजले शानदार प्रदर्शन गर्दै ककौरा सुपर किङ्सलाई ५० रनले पराजित ग¥यो भने दोस्रो खेलमा बाँसगढी रोयल टाइगर्सले बाँसगढी ब्ल्याक बक्स स्ट्राइकर्सलाई ४ विकेटले पराजित ग¥यो । पहिलो खेलमा टस जित्दै पहिला ब्याटिङ रोजेको बाँसगढी राइनोजले पूरा १६ ओभर खेल्दै १५२ रनको उत्कृष्ट योगफल बनायो। कप्तान सिद्धान्तराज शाहीले सर्वाधिक ४० रनको योगदान दिए भने सनम बुढाले ५ बलमा १७ रनको आक्रामक पारी खेले ।
बलिङतर्फ ककौराका अश्मित शाहीले ३ विकेट, हर्षल भण्डारीले २ विकेट र सौगात खत्री तथा प्रेम ओलीले समान १–१ विकेट लिए । जवाफी रूपमा ब्याटिङमा उत्रिएको ककौरा सुपर किङ्स १०२ रनमै अलआउट भयो । टिमका सन्दीप नेपालीले सर्वाधिक ३७ रन प्रहार गरे ।बलिङतर्फ राइनोजका निशान्त आचार्यले घातक बलिङ गर्दै ४ विकेट लिए भने सलाउदिन खानले ३ विकेट र सिद्धान्तराज शाहिले १ विकेट लिएका थिए । फलस्वरूप, बाँसगढी राइनोजले खेल ५० रनले जित्यो ।
ब्याटिङमा ४० रन र बलिङमा १ विकेट लिएका सिद्धान्तराज शाही ‘म्यान अफ द म्याच’ घोषित भए । यस्तै दोस्रो खेल टस जित्दै ब्याटिङ रोजेको ब्ल्याक बक्स स्ट्राइकर्सले १६ ओभरमा १२१ रनको योगफल बनायो । ब्याटिङतर्फ सौगात कार्कीले ३४ रन र आकाश बिष्टले २६ रन जोडे । बलिङतर्फ रोयल टाइगर्सका निर्मल गुरुङले २ विकेट र ट्रभिस जोशी तथा नवीन न्यौपानेले समान १–१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको रोयल टाइगर्सले १५.२ ओभरमै लक्ष्य पार गर्दै ४ विकेटले खेल जित्यो । टाइगर्सका नवीन न्यौपानेले ३० रन, समीर आचार्यले २५ रन र अन्त्यतिर अश्विन पौडेल ‘झिल्को’ले ९ बलमा २२ रनको तुफानी इनिङ खेलेर टिमलाई जितको पार लगाएका थिए ।
बलिङतर्फ स्ट्राइकर्सका आकाश बिष्टले ३ विकेट र निखिल खत्रीले १ विकेट लिएका थिए । जितका नायक बनेका अश्विन पौडेल ‘झिल्को’ म्यान अफ द म्याच घोषित भए । बाँसगढी राइनोजका मालिक मदन भण्डारीले खेलपछि भने, ‘यो लिगले बाँसगढीको युवा प्रतिभालाई उजागर गर्ने अवसर दिएको छ । प्रत्येक टिमले उत्कृष्ट प्रदर्शन गर्दैछन् । खेलमैत्री भावना र खेलकुदको विकासका लागि यो बिपिएल महत्वपूर्ण मञ्च बनेको छ ।’









प्रतिक्रिया दिनुहोस्