खुला सीमाबारे उद्योगी व्यापारीबीच छलफल



शिवु खनाल । दाङ ।

भारतका उत्तर प्रदेश व्यापार मण्डल प्रदेश अध्यक्ष बनवारीलाल कंछलले नेपाल–भारत दुई छिमेकी मुलुकको सम्बन्ध सदियाँैदेखि घनिष्ठ रहिआएको बताएका छन् । उनले एकअर्काका अत्यन्त निकट दुई मुलुकको सम्बन्ध स्थापित गराउन सीमा व्यापार आधार स्तम्भको रूपमा रहेको उल्लेख गरे । देउखुरी उद्योग वाणिज्य संघ लमहीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका अध्यक्ष कंछलले भारतको कतिपय बजार नेपाल निर्भर र नेपालका मालसामान आयातले दुई मुलुकको सम्बन्ध मजबुत पार्न भूमिका खेलेको बताए ।

नेपाल–भारतबीचको खुला सीमाका कारण दुई देशबीचमा व्यापार–व्यवसाय फस्टाएको बताउँदै उनले भने, ‘अन्य मुलुकभन्दा यी दुई छिमेकी मुलुकको सीमा व्यापारले विशिष्ट स्थान ओगटेको छ । नेपाल–भारतबीच राजनीतिक, सरकारीस्तरको सम्बन्धभन्दा मजबुत छ ।’ दुई देशका व्यापारीबीचको सम्बन्ध नेपालका व्यापारी भारतीय र भारतका नेपाली व्यापारीसँग परिचित रहेको भन्दै पारिवारिक नाता, वैवाहिक सम्बन्ध जस्ता कुराले पनि सीमा व्यापारमा टेवा पु¥याएको उनले बताए ।

अध्यक्ष कंछलले भ्रमणले नेपाल–भारत व्यापार सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै दुई देशको सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गरे ।कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले कुनै बेला ‘नसुत्ने सहर’को रूपमा चिनिने कोइलाबास नाका ओझेलमा परेको बताए । उनले पश्चिम राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलाबास नाका अहिले भने ‘मृत सहर’ जस्तै बनेकोप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘कोइलाबास नाका अहिले सुनसान छ । साँच्चै भन्दा खण्डहरूजस्तै लाग्छ यो नाका अहिले । रूकुम, सल्यान, प्युठान, दाङ, देउखुरीलगायतका ठाउँबाट नुनदेखि सुनसम्म खरिद बिक्री गर्न व्यापारी र उपभोक्ताहरू यस नाकामा जान्थे । तर, अहिले यही कोइलाबास नाकाका जनता सामान किनमेल गर्न भारत जानुपर्ने बाध्यता छ । टाउको दुख्दा सिटामोल लिनसमेत भारतमै पुग्नुपर्ने बाध्यता छ ।’

कोइलाबासका जनताले अहिले धेरै दुःख पाएका बताउँदै उनले नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प उनीहरूका लागि नभएको बताए । त्यहाँका जनता कोइलाबासबाट करिब २४ किलोमिटरको दूरीमा रहेको भारतको तुल्सीपुरमा बजार जान बाध्य छन् । उनीहरूलाई गढवा, लमही, दाङकै तुल्सीपुर आउनभन्दा भारतको तुल्सीपुरमा बजार जान सजिलो हुने र छिटो र छरितो पनि हुने स्थानीय बताउँछन् ।

वाणिज्य संघको ज्ञापनपत्र

देउखुरी उद्योग वाणिज्य संघ लमहीले भारतको उत्तर प्रदेश व्यापार मण्डल प्रदेश अध्यक्ष बनवारीलाल कंछललाई ज्ञापनपत्र बुझाएको छ ।भारतको लखउनका विभिन्न अस्पतालमा नेपालबाट उपचारका लागि जाने नेपाली बिरामीहरूलाई विशेष सुविधासहितको भारत सरकारले उपचारमा दिने २५ प्रतिशत छुटको व्यवस्था गर्न आग्रह गर्दै संघका अध्यक्ष ठकुरीले ज्ञापनपत्र बुझाएका हुन् ।

साथै भारतसँग सीमा नाका जोडिएको दाङको सीमावर्ती क्षेत्र राप्तीको प्रवेशद्वार कोइलाबास नाका नेपाल–भारत भारतीय भन्सार कार्यालयमा चल्दै आएको चौबिस हजार नौ सय उनान्सय रूपैयाँँलाई बढाएर पच्चिस लाख बराबरको भन्सार हुने व्यवस्था र कोइलाबास नाकालाई दिगोरूपमा सञ्चालन गर्न संघका ठकुरी र महासचिव हरिबहादुर थापाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार