नेपालगन्जका माछा मासु पसलमा अनुगमन



खगेन्द्र दाहाल । खजुरा (बाँके) ।

नेपालगन्जको भन्सार र बजारक्षेत्रमा रहेका माछा मासु पसलमा अनुगमन गरिएको छ । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा बुधबार संयुक्त अनुगमन टोलीले गरेको अनुगमन गरेको हो । अनुगमनका क्रममा जमुनाहस्थित केही पसलहरूबाट भारतबाट ल्याइएका बिनाबीलका र प्रतिबन्धित माहुर माछा बरामद गरिएको छ । अनुगमन टोलीले ११ क्यारेट भारतीय कुखुराको अण्डासमेत विभिन्न पसलबाट बरामद गरी नष्ट गरेको छ ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा. राजकुमार थारूको नेतृत्वमा खटिएको टोलीले भन्सार क्षेत्र र बजार क्षेत्र गरि १७ वटा माछा मासु पसलमा अनुगमन गरेको थियो । अनुगमन गरिएका माछा र मासु पसलमा सरसफाइ नगरिएको, डिजिटल तराजुको प्रयोग नगरेको, टायलको प्रयोग नभएको, पल्ला जाली नलगाएको र केही स्थानमा सडेको मासु र माछा फेला परेकाले तत्कालका लागी सुधार गर्न निर्देशन दिएको छ ।

जमुनाहबाट ठूलो सङ्ख्यामा तयारी माछा, अण्डा बरामद गरिएको थियो । यस्तै नेपालगन्जको चौलिक्काबाट सेतो अण्डा र नेपालगन्जको बाँके बगियास्थित रहेको मासु पसलहरू अनुगमन गर्दा बाख्री काट्नका लागि राखिएको अवस्थामा फेला परेको थियो । केही पसलहरू बिनादर्ता सञ्चालन गरि भारतबाट माछा मासु अवैधरुपमा ल्याएर बिक्री गर्दै आइरहेको भेटिएपछि पसलमा रहेका माछा मासु र तौल गर्ने यन्त्र बरामद गरि पसल बन्द गरिएको थियो ।

अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख डा. गणेश पुन, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मोहन घर्तिमगर, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सडिल महरा, वाणिज्य आपूर्ति कार्यालयका सोनु थापा क्षेत्री, नेपालगन्ज उपमहानगरपालिकाका पशु स्वास्थ्य अधिकृत लक्ष्मी शाही, डा. आशिष थारू, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बलबहादुर ओलीको कमाण्डमा खटिएको प्रहरी टोली, पत्रकारलगायत पशु क्वारेन्टाइन चेक पोष्ट प्रमुख इन्दु रेग्मीलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार