क्षतिग्रस्त भवनबाटै सेवा प्रदान गर्दै कोहलपुरका कार्यालय



कोहलपुर ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुर र इलाका प्रशासन कार्यालय कोहलपुरले क्षतिग्रस्त भवनबाटै नागरिकलाई सेवा प्रदान गर्न थालेका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षतिग्रस्त भएका यी दुवै कार्यालयले सेवा प्रदान गर्न थालेका हुन् । जेनजी आन्दोलनका क्रममा आगजानी हुँदा कार्यालयको भवन र सम्पूर्ण कागजात जलेर नष्ट भएका थिए । जसका कारण कार्यालयले केही समय नागरिकलाई सेवा प्रदान गर्न सकेका थिएनन् ।

तर अहिले राजस्व अनुसन्धान कार्यालय र इलाका प्रशासन कार्यालयले क्षतिग्रस्त भवनबाटै नागरिकलाई सेवा प्रवाह गर्न सुरु गरेका हुन् । दसैँ सकिएलगत्तै यी दुवै कार्यालयले नागरिकलाई क्षतिग्रस्त भवनकै कोठाहरूबाटै सेवा प्रदान गर्न थालेका हुन् । राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख कृष्णप्रसाद शर्माले कार्यालयको क्षतिको मुचुल्का उठाउनासाथ सरसफाइ गरेर क्षतिग्रस्त भवनबाटै सेवा प्रदान गरिरहेको मिसन टुडेलाई बताए ।

उनले जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा भवन र त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएकोले केही समय सेवा प्रवाह ठप्प भएको जानकारी दिए । दसैँको बिदा सकिएलगत्तै कार्यालयबाट प्रदान हुने सेवा प्रवाह सुचारु गरिएको उनी बताउँछन् । ‘जेनजी आनदोलनका क्रममा आगजनी हुँदा कार्यालय पूर्णरूपमा जलेर नष्ट भएको छ,’ उनले भने, ‘तत्कालका लागि क्षतिग्रस्त कार्यालयको व्यवस्थापन गरेर सेवा प्रवाह गरिहरेका छौँ ।’

इलाका प्रशासन कार्यालय कोहलपुरले पनि आशिंकरूपमा सेवा प्रदान गर्न थालेको कार्यालय प्रमुख अन्तिम सिंजालीले बताइन् । कार्यालय जेनजी आन्दोलनबाट क्षतिग्रस्त रहेकाले बचेको केही कोठाबाट सेवा प्रवाह गर्न थालिएको उनले जानकारी दिइन् । कार्यालय पूर्णरूपमा जलेर नष्ट भएकाले कार्यालयको लागि आवश्यक पर्ने भवनको व्यवस्थापन नभएसम्म क्षतिग्रस्त भवनबाटै सेवा प्रदान गरिने उनले बताइन् ।

कार्यालयको लागि अहिले महिला बालबालिका शाखाको पुरानो भवनमा व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिइन् । जेनजी आन्दोलनदेखि ठप्प रहेको सेवा प्रवाह कार्यालयले सोमबारबाट सुरु गरेको उनले बताइन् । लामो समयसम्म कार्यालयका सेवाहरू ठप्प हुँदा धेरै नागरिकहरू सेवा लिनबाट वञ्चित भएकाले त्यसलाई मध्यनजर गर्दै तत्कालका लागि क्षतिग्रस्त भवनबाट सेवा प्रदान थालिएको उनले मिसन टुडेलाई बताइन् ।

नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि र विवरण प्रमाणितका कामहरू सुरु भएको उनको भनाइ छ । पासपोर्ट र राष्ट्रिय परिचयपत्रको सर्भरलगायतका सम्पूर्ण जलेर नष्ट भएकाले तत्काल सम्पूर्ण सेवा प्रदान गर्न नसकिने उनी बताउँछिन् । कार्यालय सञ्चालनका लागि अहिले बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाले केही सामाग्री सहयोग गरेको उनले बताइन् । कार्यालय पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि धेरै डिभाइसहरू आवश्क पर्ने र महंगो पनि पर्ने भएकाले त्यसको व्यवस्थापन गर्न सकिने अवस्था तत्काल नरहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार