कोहलपुरमा जैविक पार्कको शिलान्यास



बाँके ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको सितल बनबाटिका तथा जैविक पार्कको शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत पाँच करोड ५० लाख लागतमा निर्माण हुने जैविक पार्कको शिलान्यास कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी र कोहलपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लालबहादुर रानाले गरेका हुन् ।

सो जैविक पार्कमा ध्यान केन्द्र, योग हल, चिल्ड्रेन पार्क, ओपन फिट्नेस केन्द्र, मन्दिर, मिनी खेलमैदान, स्विमिङ्ग पुल, चिडिया खाना, पिकनिक स्थल, गुम्बा, सभाहल तथा विभिन्न संग्रहालयहरू निर्माण हुने वडाध्यक्ष रानाले बताए । ‘पार्क समयमै सम्पन्न हुनेछ, त्यसका लागि सहजीकरण गरिनेछ,’ उनले भने, ‘कोहलपुर–८ मा निर्माण हुने जैविक पार्क कोहलपुरकै पहिचानका रूपमा रहनेछ ।’

साथै उक्त पार्क विद्यालय तथा विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूको खोज तथा अनुसन्धान र अध्ययन गर्नका लागि उपयुक्त स्थान रहने लक्ष्यका साथ काम गरिने उनले बताए । वडाध्यक्ष राना निर्वाचित भएसँगै पार्कको जग्गा संरक्षण गरि पार्क निर्माणमा जुटेका हुन् । साथै पार्क निर्माणकार्य समयमै सम्पन्न गर्न र गुणस्तरीय कार्य भएनभएको बारे नियमितरूपमा अनुगमन तथा सुपरिवेक्षण गरिने कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले बताइन् ।

यसका साथै १४ करोड लागतमा निर्माण सम्पन्न हुने पार्कको लागि लगानी क्रमागतरूपमा गरिने कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । पार्क निर्माणसँगै पश्चिम नेपालकै आधुनिक र व्यवस्थित पार्क बन्ने उनले दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार