कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाको चौराह क्षेत्र वरिपरि सवारीसाधनलाई यात्रु झार्न र चढाउन रोक लगाइएको छ । मंगलबार कोहलपुर चौराहदेखि पूर्व, पश्चिम, उत्तर र दक्षिणको पाँच सय मिटरमा सवारीसाधन पार्किङका साथै यात्रु झार्न र यात्रु चढाउन रोक लगाइएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेले केही वर्षअघि मुख्य चोकहरूबाट कम्तीमा एक किलोमिटर वरपर सवारीसाधन पार्किङ नगर्न र रोकेर यात्रु झार्ने चढाउने गर्न नमिल्ने भन्दै गरेको निर्णयअनुसार पहिलो दिन सचेतना कार्यक्रम सञ्चालन गरिएको बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले बताए । उक्त निर्णयको पालना नगर्दा कोहलपुरमा जथाभावी सवारीसाधन रोक्ने र यात्रु चढाउने र झार्ने गर्नाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भइरहेको उनको भनाइ छ ।
मंगलबार चौराहको पूर्व, पश्चिम, उत्तर र दक्षिणको सडकखण्डमा ‘पार्किङ निषेध’ लेखिएका बोर्डहरू राखिएको उनले बताए । कोहलपुर नगरपालिका, यातायात व्यवसायी, ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्तरूपमा अव्यवस्थित पार्किङ क्षेत्र निषेधित गरिएको उनले जानकारी दिए । पहिलो दिन सवारी चालकहरूलाई नयाँ बसपार्कदेखि एकद्वार प्रणालीबाट सवारीसाधन सञ्चालन गर्न, यात्रुलाई बसपार्कको टिकट काउन्टरमा गएर टिकट काटेर मर्यादितरूपमा र सुरक्षित यात्रा गराउन सचेत गराइएको उनले बताए ।
पहिलो दिन सचेत गराएको बताउँदै उनले आगमी दिनमा नियम पालना नगरी सवारीसाधन रोक्ने, यात्रु झार्ने र चढाउने कार्य कसैले गरे नगरपालिकाले पाँच हजार रूपैयाँँ जरिवाना गर्ने उनले जानकारी दिए । नगरपालिकाभित्र ट्राफिक व्यवस्थापनमा सबैको साझा पहलमा कडाइ गर्न थालिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । उनका अनुसार ट्राफिक व्यवस्थापन नहुँदा दुर्घटना हुने र यात्रुहरू समेत अनुरक्षित रहने भएकाले कडाइ गर्न थालिएको हो ।
मंगलबार बिहान यात्रु, सवारीसाधन र व्यवसायी सबैलाई बसपार्कबाट टिकट काट्न र सवारीसाधन बसपार्कबाटै छुट्ने जानकारी गराइएको बताए । पहिला दिन सचेत गराएको र अब नियमितरूपमा कामकारबाही अघि बढ्ने उनले जानकारी दिए । उक्त सचेतना अभियानमा कोहलपुर–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, इलाका प्रहरीका कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र डमरपाल, बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, नगर प्रहरी, ट्राफिक प्रहरी र विभिन्न यातायात प्रालिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्