वीरेन्द्रनगर ।
सुर्खेतका सरोकारवाला निकायले नेपाल हुलाक सेवालाई विद्युतीय व्यापारको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । हुलाक निर्देशनालय सुर्खेतले विश्व हुलाक दिवसका अवसरमा आयोजना गरेका विभिन्न कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् । हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजानुपर्ने उनीहरूको भनाइ थियो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले आन्तरिक हुलाक सेवामा समेत विविधिकरण गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायतका मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै हुलाकले छिटो छरितो ढंगबाट चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाह गर्दै जानुपर्ने उनले बताए । उनका अनुसार हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता हो ।
दिवसमा उपस्थित सुरक्षा निकाय, बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय प्रमुखहरूदेखि सुर्खेतका व्यवसायीहरूले हुलाक सेवालाई नवीनतम प्रविधिसँग जोड्नुपर्ने बताएका थिए । हुलाक पुरानो संस्था र यसको नेटवर्क पनि राम्रो रहेको उनीहरूको दाबी थियो । हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेका अनुसार दिवसको अवसरमा कार्यालय परिसर सरसफाइदेखि मानव सेवा आश्रममा रहेका ९० जनालाई फलफूलसमेत वितरण गरिएको छ भने सुर्खेतस्थित वाणिज्य तथा विकास बैंकका प्रदेश प्रबन्धक तथा शाखा प्रबन्धक र सहकारी तथा वित्तीय संस्थाका प्रबन्धकहरूसँग सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उनले बताए । अन्तरक्रियामा सहभागी बैंक तथा वित्तीय संस्थाका प्रबन्धकहरूले हुलाक सेवालाई थप व्यवस्थित बनाउँदै संस्थासँगको सहकार्य मजबुत बनाउन आग्रह गरेका थिए ।
दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता
निर्देशक पाण्डेका अनुसार हुलाक दिवसका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने तीन जना र सान्त्वना स्थान आउने दुई जनालाई पुरस्कार प्रदान गरिएको छ । ‘नेपालमा हुलाक हिजो, आज र भोली’भन्ने शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई क्रमश पाँच हजार, तीन हजार, दुई हजार र एक÷एक हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
प्रतियोगितामा एसओएस स्कुलकी छात्रा गरिमा बुढा प्रथम, हार्वेस्टिक स्कुलकी छात्रा मञ्जु खत्री द्वितिय र जनसेवा मावि घुस्राकी छात्रा रेइमा खड्का तृतिय भएकी हुन् । यस्तै चिल्ड्रेन प्याराडाइज्म स्कुलकी छात्रा प्रकृति रावल र ग्रिनल्याण्ड एकेडेमीकी अनुराधा बम सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
प्रतियोगितामा वीरेन्द्रनगरस्थित माध्यमिक विद्यालयस्तरीय १४ जना विद्यार्थीले भाग लिएका थिए । निर्देशक पाण्डेले हुलाक सेवाअन्तर्गत चिठीपत्रसहित हाल तीन केजीसम्मका सामानसमेत बोक्न थालिएको जानकारी दिए । हुलाक कार्यालयले सञ्चारकर्मी तथा सञ्चारगृहको व्यवस्थापनदेखि सार्वजनिक निकायमा सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अनुगमनसमेत गर्दै आएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्