भैरहवाबाट पुनः अन्तर्राष्ट्रिय उडान हुने भएपछि उद्योगी उत्साहित



श्यामलाल पोखरेल । बुटवल ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः थाई एयर एसियाले उडान गर्ने भएको छ । आगामी अक्टोबर २६ गतेदेखि थाई एयर एसियाले उडान सुरू गने बताइएको छ । विगत ६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन रहेको देशकै दोस्रोे अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः थाई एयर एसियाले उडान भर्ने खबरले यस क्षेत्रका आमनागरिक उत्साहित भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवाबाट सातामा दुई उडान भर्ने गरी थाई एयर एसियाले पहिलेनै अनुमति लिएको थियो ।

जजिराले पनि उडान सुरु गर्ने प्रक्रियामा रहेको र विन्टर सेड्युलमा थप अन्य एयरलाइन्सहरू पनि आउने तिवारीले बताए । राष्ट्रिय गौरबको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ साल जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गरिएको थियो । उद्घाटनपछि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले भैरहवबाट व्यवसायिक उडान भएको थियो ।

अहिले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई टिकटमा लाग्ने गरेको प्रतियात्रु ३ हजार रूपैयाँको यात्रु सेवा शुल्कमा छुट दिइएको छ ।भैरहवा, पोखरा दुवै विमानस्थलमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्णछुट प्रदान गरिएको र नेपाल एयरलाइन्सले प्रदान गर्ने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको बताइएको छ । सुरुवातको चरणमा भैरहवाबाट उडान हुँदा उत्साहित देखिएका रुपन्देही, कपिलवस्तुका उद्योगी व्यवसायी र पर्यटन व्यवसायी उडान बन्द भएपछि निरासमा थिए ।

पर्यटन तथा उद्योगी व्यवसायी र सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरू सरकारसँग उडानको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।उडान बन्द हुँदा निरास देखिएका व्यवसायी उडान पुनः सुचारु हुने खबरले अहिले फेरी उत्साहित बनेका छन् । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुने खबर सुनेपछि सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले खुसी व्यक्त गर्दै अब बन्द नहुने गरी उडानलाई नियमित दिन राज्यलाई आग्रह गरे ।

‘हामी आन्दोलनमा थियौँ, अहिले पुनः उडान सुचारु हुने भन्ने निर्णयले यो क्षेत्रका सबै व्यवासायी उत्साहित छौँ, उडानले निरन्तरता पाउनुपर्छ ।’ उनले भने । लोकप्रियताका लागि अहिले पुनः सञ्चालन गर्ने र डिसेम्बरतिर भिजिविलिटिका नाममा फेरी बन्द गर्न नहुने भन्दै यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनले बताए । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि विमानस्थललाई लक्षित गरेर रुपन्देहीका पर्यटन तथा उद्योगी व्यवसायीले करिब एक खर्ब लगानी गरेको पर्यटन व्यवसायी चन्द्रमान श्रेष्ठले बताए ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि व्यवसायीहरूले बैंकको ब्याजसमेत तिर्न नसकेको गुनासो गर्दै आएका छन् । बन्द भएको उडान सुचारु हुने भएपछि अहिले हामी व्यवसायी उत्साहित बनेको भन्दै इ ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले खुसी व्यक्त गरे । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, भैरहवाका पर्यटन व्यवसायी रामबहादुर कोइरी, बुटवलका पर्यटन व्यवसायी प्रविन पाठक लगायतका व्यवसायीले पुनः अन्तर्राष्ट्रिय उडान सुचारु हुनुलाई गौरवको रूपमा लिएका छन् ।

उडान पुनः सञ्चालन हुनुलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उनीहरूको भनाइ छ । उडान बन्द भएपछि केही महिना अघिदेखि आन्दोलनमा एक ठाउँमा उभिएका पर्यटन तथा उद्योगी व्यवसायी र सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरूले यसअघिको ओली सरकारले मितिसहित घोषणा गरेको उपनिर्वाचन बहिष्कार गर्नेसम्मको सामूहिक निर्णय गरेर सरकारलाई चुनौती दिँदै आएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार