मानसिक स्वास्थ्य क्षेत्रमा लगानी गर्न जोड



नन्दराम जैशी । सुर्खेत ।

कर्णालीका सरोकारवाला निकायले मानसिक स्वास्थ्य क्षेत्रमा लगानी बढाउन माग गरेका छन् । विश्व मानसिक स्वास्थ दिवसका अवसरमा स्वास्थ सेवा निर्देशनालय सुर्खेतले आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको दाबी गर्दै स्थानीय तथा प्रदेश सरकारलाई यसमा लगानी बढाउन सरोकारवालाको माग छ ।

दिवसको अवसरमा विपद्को समयमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले लगानी बढाएको जानकारी दिए । ‘मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूको परिवारहरूले नै संरक्षण गर्नबाट पन्छिन खोजेको उनले टिप्पणी गरे । सरकारले उनीहरूको उपचार र पुनस्र्थापनामा चासो दिएपनि परिवारको बेवास्ता गरिएको छ’ उनले भने, ‘मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्ने उद्देश्य बमोजिम विकास क्षेत्रहरूमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम लागु गरिएको छ ।’

मन्त्री भण्डारीका अनुसार शुक्रबार नै डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा अन्तक्र्रिया कार्यक्रम राखिएको थियो । जिल्ला अस्पतालहरूमा बिरामीको सहज पहुँच हुन नसकेको पाइएपछि मन्त्रालयले कर्णालीका रणनीतिक महत्वका क्षेत्रमा रहेका स्थानीय तहद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मेडिकल अधिकृतहरू खटाएको छ । अस्पतालहरूमा मानसिक स्वास्थ्य उपचारका लागि विशेष कक्षको स्थापना गरिएको छ ।

हाल प्रदेश अस्पताल सुर्खेतमा वार्ड सञ्चालनमा छ, भने अन्य प्रादेशिक तहका अपस्तालमा सञ्चालन गर्ने तयारी रहेको मन्त्री भण्डारीले बताए ।मानसिक स्वास्थ्य रणनीतिको मध्यावधि समीक्षा गरी थप कार्ययोजना बनाएको उनले जानकारी दिए । स्थानीय तहहरूले समेत कार्ययोजना बनाई काम गरिरहेको अवस्थामा प्रदेश सरकारले अपनत्व लिई थप प्रभावकारी कार्यक्रम गर्ने उनले प्रतिबद्धता जनाए ।

मनोचिकित्सक सुशील समदर्शीले कुनै पनि व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्ने, जीवनका सामान्य तनावलाई व्यवस्थापन गर्न सक्ने र उत्पादनशील ढंगले काम गरी आफ्नो समुदायमा योगदान दिन सक्षम रहने अवस्थालाई मानसिक स्वस्थ्य अवस्था भन्न मिल्ने बताए । उनले भने, ‘मानसिक स्वास्थ्यमा समस्या भन्नाले मानिसको भावना, संवेग, विचार र व्यवहारमा आएको परिवर्तनले व्यक्ति आफू वा सम्बन्धित व्यक्ति वा दुवैलाई प्रभावित गर्दै व्यक्तिको सामाजिक तथा व्यावसायिक र पेशागत क्षेत्रमा नकारात्मक असर पर्ने अवस्था भन्ने बुझिन्छ ।’

विश्व स्वास्थ्य संगठनले मानसिक समस्यालाई साधारण तथा दैनिक रूपमा आइपर्ने तनाव व्यवस्थापन गर्न कठिनाइ भई दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्थालाई उल्लेख गर्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारभर हरेक चार जनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या हुन्छ । यस तथ्यांकलाई आधार मान्दा विश्वको जनसङ्ख्याको २५ प्रतिशत मानिस कुनै न कुनै किसिमको मानसिक समस्याबाट ग्रसित हुन्छन् ।

नेपालको मानसिक स्वास्थ्य समस्या कुल जनसङ्ख्याको ३० प्रतिशत रहेको अनुमान लगाउन सकिन्छ । प्रत्येक १० जनामध्ये नौ जना मानसिक समस्या भएका व्यक्ति लैङ्गिक हिंसा तथा आक्रमणको जोखिममा हुन्छन् । प्रहरी नायव उपरीक्षक मोहन जंग बुढ्थापाले मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि कर्णाली प्रदेशमा गत वर्ष ३०३ जनाले आत्महत्या गरेको जानकारी दिए । जसमा ११४ जना सुर्खेतका रहेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक तेज कुमार दर्लामीले मानसिक स्वास्थ्य अवस्था राम्रो भएमा मन, शरीर र समाजबिचको अन्तर सम्बन्धलाई स्वस्थ र प्रभावकारी बनाउन मद्दत पुग्ने बताए । ‘मनोसामाजिक अवस्था राम्रो हुनका लागि मन, शरीर र समाजबिचको सम्बन्धमा सुमधुर र स्वस्थ हुनु पर्छ’ उनले भने, ‘यी तीन पक्षबिच सुमधुर सम्बन्ध भएन भने मन खिन्न हुने, दुःखी हुने, आफूलाई अरूले घृणा गरेको, होच्याएको, अपमान, माया र सम्मान नगरिएको, विभेद गरेको महसुस हुने गर्छ । तर मानसिक समस्यालाई समयमै निराकरण गर्न नसकेमा धेरै समस्या निम्त्याउँछ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिबार