बाँकेका न्यायिक समितिमा बढ्दै उजुरी



गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।

बाँकेका न्यायिक समितिमा उजुरी दर्ता सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा उजुरी दर्ताको सङ्ख्यामा वृद्धि भएको हो । अघिल्लो आवमा जिल्लाका आठ वटा पालिकाका न्यायिक समितिमा एक हजार ५३ वटा उजुरी दर्ता भएका थिए भने गत आवमा १२ सय उजुरी दर्ता भएका छन् । आठ पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाको न्यायिक समितिमा तीन सय ७२ उजुरी दर्ता भएको छ ।

त्यसैगरी, खजुरा गाउँपालिकामा तीन सय ६०, बैजनाथमा एक सय २८, राप्ती सोनारीमा ९८, डुडुवामा ७७, नरैनापुरमा ७५, नेपालगन्ज उपमहानगरपालिकामा ७० र सबैभन्दा कम जानकी गाउँपालिकामा २० वटा उजुरी दर्ता भएका छन् । कोहलपुरमा विभिन्न विषयका तीन सय ७२ वटा उजुरी दर्ता भएको मेलमिलाप संयोजक मोतीलाल थारूले जानकारी दिए । दर्ता भएका उजुरीमध्ये दुई सय ४२ वटा उजुरीमाथि सहमति भएर किनारा लागेको, ५० वटा उजुरी प्रक्रियामा रहेको र विभिन्न ८० वटा उजुरी सहमति हुन नसकेको संयोजक थारूले जानकारी दिए।

लेनदेनसम्बन्धी २६, जग्गा विवादसम्बन्धी २३ र बाटोसम्बन्धी ११ लगायतका विषयका रहेको थारूको भनाइ छ । खजुरा गाउँपालिकामा विभिन्न विषयका तीन सय ६० वटा उजुरी दर्ता भएको गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक मञ्जु मल्लले बताइन् । ती उजुरीमध्ये दुई सय ९६ वटा उजुरी मिलापत्रमा सहमति भएको र ६४ वटा प्रक्रियामा रहेको उनले बताइन् । खजुरामा लेनदेन, जग्गा विवाद, गाली बेइज्जती, फोहोरमैला, घरायसी हिंसा लगायतका विषयमा उजुरी परेको मल्लले बताइन् ।

बैजनाथको न्यायिक समितिमा एक सय २८ उजुरी दर्ता भएका छन् । बैजनाथमा विभिन्न शीर्षकका एक सय २८ उजुरी दर्ता भएको न्यायिक समितिकी कर्मचारी शिला पाठकले जानकारी दिइन् । पाठकका अनुसार दर्ता भएका उजुरीमध्ये ८४ वटा उजुरी सहमति भएका छन् भने २२ वटा प्रक्रियामा रहेका र २२ वटा सहमति हुन नसेकेका हुन् । सबैभन्दा बढी जग्गा साँधसिमाना मिचेका २७ र २५ वटा लेनदेनसम्बन्धी रहेका उनले जानकारी दिए ।

राप्ती सोनारीमा विभिन्न शीर्षकमा ९८ वटा उजुरी दर्ता भएका छन् । न्यायिक समितिमा परेका ९८ वटा उजुरीमध्ये ८८ वटा उजुरीमाथि मेलमिलाप भएको र १० वटा प्रक्रियामा रहेको पालिका उपाध्यक्ष एवम् समितिकी संयोजक मनिषासिंह थारूले जानकारी दिइन् । उनका अनुसार दर्ता भएकामध्ये धेरैजसो जग्गा विवाद र लेनदेनसम्बन्धीका उजुरी रहेका थिए । डुडुवा गाउँपालिकाको न्यायिक समितिमा ७७ वटा उजुरी परेका छन् ।

विभिन्न विषयका ७७ वटा उजुरी दर्ता भएको न्यायिक समितिका कर्मचारी विवेककुमार तिवारीले जानकारी दिए । तीमध्ये १६ वटामा सहमति भएको छ । ४७ वटा प्रक्रियामा रहेको तथा १४ वटामा सहमति हुन नसकेको (तारेख गुजारेको निर्णय गरेको) तिवारीले बताए । नरैनापुरको न्यायिक समितिमा विभिन्न विषयका नयाँ र पुराना गरी ७५ वटा उजुरी दर्ता भएको न्यायिक समितिका कर्मचारी रामबालक पासीले जानकारी दिए । तीमध्ये ४३ वटा उजुरी मेलमिलाप÷फछ्र्यौट भएको र बाँकी ३२ वटा उजुरी प्रक्रियामा रहेको उनले बताए ।

नरैनापुरमा सबैभन्दा बढी २४ वटा अर्काको जग्गा भोगचलन गरेकोसम्बन्धी उजुरी रहेका थिए । नेपालगन्जमा ७० वटा उजुरी दर्ता भएको नेपालगन्ज उपमहानगरपालिकाका कानुन अधिकृत माया शर्माले जानकारी दिइन् । कानुन अधिकृत शर्माका अनुसार दर्ता भएका ७० उजुरीमध्ये १५ वटा सहमति÷निर्णय भएका छन् । त्यसैगरी ५१ जटा प्रक्रियामा रहेका र चार वटा तामेलीमा रहेका उनले जानकारी दिइन् ।जानकीमा २० वटा उजुरी दर्ता भएको र तीमध्ये १७ वटा उजुरी फछ्र्यौट गरिएको तथा तीन वटा उजुरी प्रक्रियामा रहेको न्यायिक शाखाका अधिकृत जीतबहादुर श्रेष्ठले बताए ।

बाँकेका न्यायिक समितिमा दर्ता भएका जम्मा १२ सय उजुरीमध्ये ८०१ सहमति÷फर्छयौट भएका छन् । त्यसैगरी १२० वटा सहमति हुन नसकेका÷तामेलीमा रहेका र २७९ वटा उजुरी प्रक्रियामा रहेका छन् । न्यायिक समितिहरूले समितिमा परेका उजुरीउपर छानबिन गरी छलफलमार्फत न्याय निरूपण गरी विभिन्न समस्या समाधान गर्दै आएका छन् ।

सहमति हुन नसकेका उजुरीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरोकारवाला निकायमा पठाइने गरिएको छ । न्यायिक समितिमार्फत छिटोछरितो रूपमा सेवा पाउँदा सम्बन्धित व्यक्तिलाई सहज भएको छ भने पछिल्लो समयमा न्यायिक समितिको विश्वसनीयताका कारण समितिमा उजुरीको सङ्ख्या पनि बढ्दै गएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिबार