विद्यालयका क्यान्टिनदेखि सहरका रेस्टुरेन्ट, चिया पसलदेखि ठूला पार्टी–समारोहसम्म, कोक, फेन्टा, स्प्राइट जस्ता पेयहरू कार्बन र चिनीयुक्त पदार्थ अपरिहार्य जस्तै बनिसकेका बेला प्रालिले सञ्चालन गरेको मही अभियानले सार्थकता पाएको छ । मही अभियान सञ्चालन भएपछि परम्परादेखिको मही खाने बानीको विकास हुनुका साथै सस्तो, पोषिलो भएकाले आमउपभोक्ताले पेय पदार्थको सट्टा मही खान थालेको डेरी व्यवसायीहरूको दाबी छ ।
श्यामलाल पोखरेल । बुटवल ।
कपिलवस्तुको वाणगंगा नगरपालिका इमिलियमा सञ्चालित ग्लोवल डेरी प्रालिले मही उत्पादन गर्दै आएको छ । दूध, दही, घिउ, पनिर, छुर्पीलगायतका दूधजन्य खाद्य वस्तुहरू उत्पादन गर्दै आएको प्रालिले २०८१ को वैशाखदेखि मही उत्पादन सुरु गरेको हो । मानिसलाई मही खान बानीपार्ने उद्देश्यले मही अभियान नै सञ्चालन गरेपछि अहिले बजारमा ग्लोवल डेरी प्रालिले उत्पादन गरेको बुद्धभूमि महीको खोजी हुन थालेको छ ।
उद्योगबाट दैनिक २ हजार र काठमाडौँको युनिटबाट दैनिक ५ सय लिटर मही उत्पादन भइरहेको प्रालिका अध्यक्ष थानेश्वर न्यौपानले जानकारी गराए । उनका अनुसार उत्पादन भएको मही अहिले कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बाँके र स्याङ्जा लगायतका जिल्लामा बिक्री वितरण हुँदै आएको छ ।
विदेशी ब्रान्डका चिल्लो र अत्यधिक गुलिया (सुगरयुक्त) पेय पदार्थहरूले कब्जा जमाएको नेपाली बजारमा एक वर्ष यतादेखि महीको माग बढेको डेरी व्यवसायी कृष्ण भट्टराईले बताए । टिनका डिब्बा र प्लाष्टिकका बोतलमा सजिएका पेय वस्तुहरूलाई उपभोक्ताले आधुनिकताको लहलहैमा लागेर गुलिया पेय पदार्थ उपभोग गर्दा स्वास्थ्यमा नकरात्मक प्रभाव पारेकाले महीप्रति आर्कषण बढेको उपभोक्ताहरूको भनाइ छ ।
विद्यालयका क्यान्टिनदेखि सहरका रेस्टुरेन्ट, चिया पसलदेखि ठूला पार्टी–समारोहसम्म, कोक, फेन्टा, स्प्राइट जस्ता पेयहरू कार्बन र चिनीयुक्त पदार्थ अपरिहार्य जस्तै बनिसकेका बेला प्रालिले सञ्चालन गरेको मही अभियानले सार्थकता पाएको छ । मही अभियान सञ्चालन भएपछि परम्परादेखिको मही खाने बानीको विकास हुनुका साथै सस्तो, पोषिलो भएकाले आमउपभोक्ताले पेय पदार्थको सट्टा मही खान थालेको डेरी व्यवसायीहरूको दाबी छ ।
डेरी व्यवसायीका अनुसार परापूर्वकालदेखि गाउँघरमा मही खाने चलन कायमै थियो । तर बजारमा भने महीको भन्दा विभिन्न खालका पेय पदार्थको प्रयोग बढी भइरहेको बेला अहिले महीको माग दिनप्रतिदिन बढ्दै गएको छ । सहरबजारमा महीले नयाँ पहिचान कायम गरिसकेको छ । पेय पदार्थको सट्टा आजभोलि जताततै महीको खोजी हुन थालेको छ । जसले गर्दा महीको उत्पादन बढाउने तयारी गरिएको बताउँछन् प्रालिका अध्यक्ष न्यौपाने । क्याफेमा बसेर गुलिया प्रकारका विभिन्न पेय पदार्थ खाने युवा पुस्ताले मही खोज्न थालेको देख्दा खुसी लाग्ने गरेको उनले बताए ।
‘दूध मही पिउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ मही अभियान चलाउँदा केहीले यसले गरिखान्न भन्नेले अहिले महीको माग बढेपछि सबै थप उत्पादन गर्न उत्साह थपिएको र किसानहरूलाई पनि फाइदा भएको न्यौपानले मिसिन टुडेलाई बताए । नेपाल डेरी एसोसिएसनले मही प्रवर्धनका लागि सबै प्रदेशमा महीलाई अभियानको रूपमा चलाएर हरेक वर्षको चैत २८ लाई राष्ट्रिय मही दिवसको रूपमा मनाउन थालेपछि प्रालिले मही उत्पादन गर्न थालेको हो । दुई तीन वर्षयता कृषि मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग र निजी क्षेत्रका डेरीहरूले दूध तथा दुग्धजन्य पदार्थको उपभोग प्रवर्धनका लागि सक्रियता बढाएका छन् ।
महीलाई केवल परिकारको रूपमा होइन, संस्कार र स्वास्थ्यसँग जोडिएको वैकल्पिक पेयको रूपमा पुनःस्थापित गर्ने दिशामा पाइला चालेको र उक्त अभियान सफल भएको प्रालिका अध्यक्ष न्यौपानेको दाबी छ । डेरी व्यवसायीहरूले सञ्चालन गरेको मही अभियानले सार्थकता पाएको र मही अभियान देशव्यापी हुने कृषि तथा पशुपन्छी क्षेत्रका विज्ञहरूले बताएका छन् । व्यवसायीहरूले महीलाई प्रतिस्पर्धी बनाउनेगरी लेबलिङ, प्याकेजिङ र ब्रान्डिङ गरेर बजारमा ल्याउँदा पेय पदार्थको बजार कमजोर बन्दै गएको र महीको बजार फस्टाउँदै गएको पशु चिकित्सक लोकराज भुसालले बताए ।
बजारमा महीको माग बढ्न थालेपछि पछिल्लो समय ग्लोवललगायत अन्य थुपै्र डेरीहरूले मही उत्पादन गर्न थालेका छन् । रुपन्देहीको शिवगंगा डेरी, रुपन्देहीकै लस्कुन डेरी, पोखराको एस एण्ड डेरी, चितवनको पवन डेरी, कोशीको साझा डेरी, ललितपुरको नवप्रभात डेरी, धनकुटाको राजु डेरी, झापाको पूर्वाद्र्ध डेरीलगायत अन्य थुप्रै डेरीबाट मही उत्पादन गर्ने गरेका छन् ।
गुलिया पेय पदार्थको विकल्पमा मही उत्पादन हुन थालेपछि बजारमा गुलिया प्रकारका पेय पदार्थहरूको बजार कमजोर हुँदै गएको बुटवलका किराना व्यवसायीहरूले बताएका छन् । हिजो कोकाकोला, मिरिन्डा लगायतका पेय पदार्थ खानेहरूले अहिले मही खोज्न थालेको किराना व्यवसायी राधा भुसालले बताइन् । मही खाने बानी अब केवल गाउँघरमा मात्रै सीमित छैन । मही स्वाद र संस्कारको रूपमा गाउँदेखि सहरबजारसम्म लोकप्रिय बन्दै गएको छ ।









प्रतिक्रिया दिनुहोस्