वीरेन्द्रनगर ।
नेपाली काँग्रेसका नेता गोविन्दबहादुर मल्लको निधन भएको छ । वीरेन्द्रनगर–८ सुर्खेतका काँग्रेस नेता मल्लको ७८ वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज टिचिङ अस्पताल कोहलपुरमा बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा क्रियाशील रहेका मल्ल २०४८ सालमा नेपाली काँग्रेस सुर्खेत जिल्ला सभापतिसमेत बनेका थिए ।
२०४९ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत बनेका मल्ल २०४९ सालयता निरन्तर काँग्रेस महाधिवेशन प्रतिनिधि बन्दै आएका थिए । महाधिवेशन समिति सदस्यसमेत रहेका मल्ल पार्टीमा सबैले रुचाएका नेता थिए । शैक्षिक योग्यताले बिएडसम्म अध्ययन गरेका मल्लले आफ्नो जीवन नै काँग्रेस राजनीतिमा व्यतित गरेका थिए । उनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको नेपाली काँग्रेस सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले बताए । पार्टीले एक असल राजनीतिज्ञ मात्रै नभई बौद्धिक अभिभावक गुमाएको उनको भनाइ छ ।
‘नेता मल्लको व्यक्तिगत आचरण अत्यन्तै राम्रो थियो । कसैलाई नबिझाउने मान्छे हुनुहुन्थ्यो,’ सभापति रेग्मीले भने, ‘सधैँ व्यक्तिगत फाइदाभन्दा समाज सेवामा खटिनुहुन्थ्यो । सबैसँग मिलनसार र अन्य राजनैतिक दलहरूसँग पनि राम्रो सम्बन्ध कायम गर्नुहुन्थ्यो, उहाँको निधनले सिंगो पार्टी दुखी भएको छ ।’ नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले नेता मल्लको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए ।
‘नेता मल्लले नेपालको लोकतान्त्रिक आन्दोलनसहित नेपाली काँग्रेसको संगठन सुदृढीकरण र समाज सेवामा पु¥याउनुभएको योगदान सदैव स्मरणीय भइरहनेछ,’ उनले भने, ‘मल्लको मृत्युबाट नेपाली काँग्रेसलाई अपूरणीय क्षति हुनपुगेको छ । यो पार्टीका लागि दुःखद् घडी हो ।’
नेता मल्लका तीन जना छोरी र एक छोरा छन् । जसमध्ये हाल एक छोरी अमेरिकामा छिन् भने दुई छोरी र छोरा सुर्खेतमै थिए । हाल बुवा गुमाउन पुगेका छोराछोरीले विगत दुई वर्षअघि आमा पनि गुमाएका थिए ।









प्रतिक्रिया दिनुहोस्