तीन महिनामा तीन सय ३३ विपद्का घटना



सुर्खेत ।

कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको तीन महिना तीन सय ३३ वटा विपद्का घटना घटेका छन् । गत साउन १ गतेदेखि हालसम्म घटेका तीन सय ३३ वटा विपद्का घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् भने उक्त घटना परी २९ जना घाइते र १ जना बेपत्ता रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार विपद्को कारण ५९ वटा चौपायाको ज्यान गएको छ भने ३७० वटा भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

अन्य प्रदेशको तुलनामा यस वर्ष कर्णालीमा हालसम्म मनसुन तथा अन्य विपद्का घटनाले ठूलो जनधनको क्षति नभएपनि उल्लेख्य भौतिक संचरना क्षति हुँदा स्थानीयले आर्थिक भार खेप्नुपरेको छ । सबैभन्दा धेरै रूकुम पश्चिममा विपद्का घटना भएको प्रहरीको भनाइ छ । प्रहरीको तथ्यांकअनुसार रूकुम पश्चिममा ७९ वटा विपद् घटना घट्दा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् भने १७ वटा चौपाया मरेका छन् । यस्तै ७७ वटा भौतिक संरचनामा पनि क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ ।

त्यस्तै जाजरकोट जिल्ला दोस्रो बढी प्रभावित देखिएको छ । यहाँ ६९ वटा विपद्का घटना रेकर्ड भएका छन् । यी घटनामा चार जना घाइते भएका छन् र एक जना बेपत्ता छन् । जाजरकोटमा १० वटा चौपायाको मृत्यु भएको छ भने ८१ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।
यता मानवीय क्षतिका हिसाबले सुर्खेत जिल्लाले धेरै भार खेपेको छ । सुर्खेतमा २७ वटा विपद् घटनाबाट तीन जनाको मृत्यु र सात जना घाइते भएका छन् । यहाँ तीन वटा चौपाया मरेका छन् भने २२ वटा संरचनामा क्षति पुगेको तथ्यांकमा उल्लेख छ ।

दैलेख जिल्लामा ३५ वटा विपद् घटना हुँदा पाँच जना घाइते भएका छन् भने नौ वटा चौपाया मरेका छन् । २७ वटा संरचनामा क्षति पुगेको छ ।कालीकोटमा ४७ वटा घटनाबाट एक जना घाइते भएका छन् भने ४६ वटा संरचनामा क्षति पुगेको छ । यस्तै सल्यान जिल्लामा १४ वटा घटनाबाट चार वटा चौपाया मरेका छन् भने २९ वटा संरचनामा क्षति पुगेको छ । जुम्लामा १८ वटा विपद् घटना हुँदा मानवीय क्षति शून्य छ । तर १८ वटा भौतिक संरचनामा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

मुगुमा १६ वटा घटनाले एक जनालाई घाइते बनाएको छ भने सात वटा चौपाया मरेका छन् । २० वटा संरचनामा क्षति पुगेको छ । डोल्पामा १३ वटा विपद् घटना भएका छन् । ती घटनामा एक जनाको मृत्यु र सात जना घाइते भएका छन् । एउटा चौपाया मरेको छ भने १० वटा संरचनामा क्षति पुगेको छ । उता हुम्ला जिल्लामा १५ वटा विपद्का घटनामा मानवीय क्षति नभएपनि सात वटा चौपाया मरेका छन् भने ४० वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार