‘दल समयमा नसुध्रिएका कारण यो अवस्था आयो’



बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारूढ दलहरु समयमा नसुध्रेका कारण अहिलेको यो अवस्था आएको बताएका छन् ।बिहीबार बुटवलमा अखिल नेपाल जनजाति सम्मेलनको तेस्रो रुपन्देही जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले उक्त कुरा बताएका हुन् ।

‘मैले पहिलेनै खबरदारी गरेको थिएँ, नभन्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशलाई यो अवस्थामा पुरायो । तपाईँहरू नसुध्रिए यो अवस्था आउने चेतावनी मैले पहिले नै दिएको थिएँ ।’ अध्यक्ष केसीले भने, ‘उनीहरु सुध्रनुको सट्टा झनै बिग्रेकाले यस्तो अवस्था आएको हो, अझै गल्ती स्वीकार नगरे अवस्था झनै जटिल हुन सक्छ ।’

युवा पुस्तालाई देशमा केही हुँदैन भन्ने भाष्य देशभित्रका शासक र विदेशी प्रतिक्रियावादी शक्ति खडा गरिएको बताउँदै उनले भने, ‘देशको अवस्था गम्भीर छ । यो अवस्था आउनुमा सत्ता गठबन्धनका एमाले, काँगे्रस जवाफदेही हुनुपर्छ ।’ देशका भ्रष्ट र नालायक सरकारको भूमिकाले गर्दा युवा पुस्ता त्यसबाट प्रभावित भएको बताउँदै उनले भने, ‘जेनजी आन्दोलन त बहाना बन्यो । देशमा यो अवस्था ल्याउन दृश्य अदृश्य शक्तिकेन्द्रको हात रहेको छ ।’

उनले आन्दोलनमा विदेशी अन्तर्राष्ट्रिय तत्वको घुसपैठ भएको बताउँदै जेनजी आन्दोलनकै क्रममा २०७२ सालको संविधान जलाउने प्रयत्न गर्नु त्यसको एउटा प्रमाण भएको उल्लेख गरे । कार्यक्रममा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो रुपन्देही अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य मिना बुढाथोकी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका उपाध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संघ रुपन्देहीका अध्यक्ष लीलबहादुर केसी, उद्योग व्यापार संघका पूर्वअध्यक्ष ढुण्डिराज शर्मा र अप्फा रुपन्देहीका अध्यक्ष गणेश गौतम, विष्णु श्रीनेतलगायतले सम्बोधन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार