नेपालगन्ज ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका दुईजना सहिद शुलभ श्रेष्ठ र आयुष थापाको सम्झनामा गेट निर्माण र सडकको नामाकरण गरिने भएको छ । दुवै सहिदहरू नेपालगन्ज वडा नम्बर १ का रहेकामा वडा कार्यालयले गेट निर्माण र सडकको नामाकरणका लागि पहल सुरु गरेको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।
वडामा पर्ने प्रहरी गुल्मबाट शुलभको घर हुँदै धम्बोझी वाटरपार्क जाने स्थानमा शुलभ गेट निर्माण गरिने र सो ठाउँबाट गायत्री मन्दिरसम्मको बाटोलाई शुलभ मार्ग नामाकरण गरिने वडाध्यक्ष रिजालले जानकारी दिए । यसैगरी खजुरा रोड शिव मन्दिरदेखि आयुषको घर हुँदै विशालनगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गरिने र विशाल चोकमा आयुष गेट निर्माण गरिने तयारी सुरु गरिएको रिजालले बताए ।
यसका साथै सहिदहरूकै सम्झनामा तिहारलगत्तै राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने योजना बनाइएको पनि उनले जानकारी दिए । वडा नम्बर १ वाटरपार्कमा रहेका धम्बोझी ब्याडमिन्टन प्रशिक्षण कभर्ड हलमा उक्त प्रतियोगिता आयोजना गरिने उनले बताए । गेट निर्माणका लागि लागत स्टिमेट तयार गर्ने काम सुरु गरिएको र वडा कार्यालयले नामाकरण तथा गेट निर्माणका लागि नगर कार्यपालिकाबाटै निर्णय गराएर काम अघि बढाइने उनको भनाइ छ ।
होनहार युवाहरूको ज्यान गएर अपुरणीय क्षतिलाई पूर्ति गर्न नसकेपनि उनीहरूप्रति सम्मान व्यक्त गर्ने, सम्झना गर्ने र सद्प्रेरणा लिने उद्देश्यले उक्त काम गर्न लागिएको वडाध्यक्ष रिजालको भनाइ छ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ गते प्रहरीले गोली हानेर आयुश र शुलभको हत्या गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्