मुसिकोटमा महायज्ञ सुरु



रूकुम पश्चिम ।

रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ बराहटाकुरामा ऐतिहासिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।बुधबारबाट बराहाटाकुरामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ असोज ३० गतेसम्म सञ्चालन हुने आयोजक बुद्ध भूमि मानव सेवा आश्रमले जनाएको छ ।

उद्घाटनको दिन बराहाटाकुराबाट तल्लो बजार, कालिका थान, बागबजार, सेरिगाउँ हुँदै पुनः बराहटाकुरासम्म बाजागाजासहित कलश यात्रा गरिएको थियो । ज्ञानमहायज्ञमा पितृ मुक्ति, धार्मिक, सांस्कृतिक, तुलादान, भूमि दान गर्न सकिने बुद्ध भूमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिए । मंगलबार उद्घाटन गर्ने भनिए पनि पाँच पूर्णिमा मेलाले एक दिन पछि सरेको उनको भनाइ छ ।

ज्ञान महायज्ञ सप्ताहमा प्रमुख वाचकको रूपमा आचार्य पण्डित नारायण खनाल रहेका छन् । ज्ञान महायज्ञमा सवा करोड दीप प्रज्वलन समेत गरिने छ । ज्ञान महायज्ञमा भागवतको एक दिनको कर्ता बनेमा २१ सय, ब्राह्मण भोजन गराएमा ५१ सय र सात दिनेको कर्ता बनेमा २१ हजार शुल्क लाग्ने छ । पूजा पाठपारायण बिहान ७ बजेदेखि १० बजेसम्म हुने आयोजक बुद्ध भूमि मानव सेवा आश्रम रूकुम पश्चिमले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार