
नेपालगन्ज ।
नेपालगन्जस्थित निर्वाचन कार्यालय बाँकेले मतदाता नामावली संकलन तथा अद्यावधिकको काम पूर्ण सक्रियताका साथ गरिरहेको जनाएको छ। फागुन २१ का लागि घोषित प्रतिनिधिसभाको निर्वाचनका लागि असोज १२ गतेबाट नयाँ मतदाता नामावली संकलनको कार्य सुरु भएको थियो । यस बीचमा दसैँ पर्व परेकोले असोज १२, १९ र २० गते गरी तीन दिनमा एक सय ६८ जनाले नयाँ नामावली दर्ता गराएको कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।
यद्यपि यो सङ्ख्या अपेक्षाभन्दा कम भएकोले अब बिस्तारै नाम दर्ता गर्न आउनेहरूको सङ्ख्या बढ्ने उनले बताए । यसअघि २०८१ चैतसम्मको तथ्यांकअनुसार बाँकेमा तीन लाख ३३ हजार नौ सय ५७ जना मतदाता रहेका थिए । जसमा एक लाख ६९ हजार आठ सय ४६ पुरुष र एक लाख ६४ हजार एक सय दुई जना महिला रहेका थिए । अब सबै मतदाताको नामावली अद्यावधिक गर्ने, वडाबाट मृत्युदर्ताको रेकर्ड मगाएर नामावली हटाउने काम पनि गरिने पन्तले जानकारी दिए ।
अहिले कार्यालयमा चार जना कर्मचारीहरू रहेका र अहिलेको कामका लागि पर्याप्त रहेका पन्तको भनाइ छ । कार्यालय समय पनि बिहान ८ बजेदेखि नै सुरु भएर साँझ ६ बजेसम्म लम्ब्याइएको छ । पन्तले निर्वाचनका लागि सामाजिक अगुवा, राजनीतिक दल र सचेत नागरिकहरूले मतदाता नामावली दर्ता तथा अद्यावधिक गराउन सबैलाई जागरुक बनाउन आग्रह गरे । उनले अन्तिम समयमा नामावली दर्ता गर्न आएर भिड जम्मा हुने गरेकोले फुर्सदको समय मिलाएर नामावली दर्ता गर्न आउन आग्रह गरे ।
नयाँ मतदाता नामावली दर्ताका लागि निर्वाचन आयोगको वेबसाइटमा गएर अनलाइन फारम भर्नुपर्छ । त्यसरी अनलाइन भरिएको फारमका आधारमा कार्यालयमा उपस्थित भएर बायोमेट्रिक प्रमाणहरू लिएपछि नयाँ मतदाता नामावली दर्ता हुन्छ । यस काममा धेरै लामो समय र झन्झट पनि नरहेको पन्तले बताए । जुनसुकै जिल्लाका नागरिकले पनि आफ्नो नजिकको निर्वाचन कार्यालयमा गएर नामावली दर्ता गर्नसक्ने उनले जानकारी दिए ।
२०८१ चैतसम्म बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा ८३ हजार आठ सय १०, कोहलपुरमा ५७ हजार चार सय ८३, राप्तीसोनारी गाउँपालिकामा ४५ हजार चार ३९, बैजनाथ गाउँपालिकामा ४५ हजार एक सय १८, खजुरामा ३७ हजार आठ सय १० जना मतदाता रहेका थिए। यसैगरी जानकी गाउँपालिकामा २३ हजार एक सय ७६ जना, डुडुवामा २२ हजार चार सय ६५ र नरैनापुर गाउँपालिकामा १८ हजार ६ सय ५६ मतदाता रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्