काठमाडौँ ।
व्यावसायिक घराना चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट यस्तो घोषणा गरेका हुन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ६ दर्जन बढीले सहादत प्राप्त गरेका थिए ।
‘जेनजी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्ने छौँ,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिने छौँ, पुनर्निर्माण गर्ने छौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौँ ।’ प्रबन्ध निर्देशक चौधरीका अनुसार रोजगारी प्रक्रियाका लागि सीजी टिमले सम्पूर्ण सहिद परिवारलाई सम्पर्क गरिरहेको छ ।
यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने छ ।प्रबन्ध निर्देशक चौधरीले यस्तो घोषणा गरे पनि जेनजी आन्दोलन क्रममा निजी क्षेत्रतर्फ सीजीमा पनि अधिक क्षति पु¥याइएको थियो । जेनजी आन्दोलनका कारण सीजीलाई करिब ५ अर्ब रूपैयाँँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो ।
सीजीका अनुसार काठमाडौँ सतुङ्गलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यावसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् । यसैगरी सोही परिसरमा रहेको सीजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको छ । राजधानीलगायत विभिन्न स्थानमा रहेका समूहका अन्य प्रतिष्ठानहरू पनि यसको चपेटामा परेका छन् ।
थापाथलीमा रहेको सीजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा तोडफोड तथा आगजनी गरिएको छ । सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास रविभवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ । काठमाडौँ उपत्यकाका ललितपुर, विशालनगरलगायत क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुममा पनि ठूलो क्षति पु¥याइएको छ ।
चितवन भरतपुरमा रहेको सीजी ल्यान्डमार्क व्यावसायिक भवन तथा पसलहरूमा लुटपाट तथा तोडफोड गरिएको छ भने जोरपाटीमा रहेको सीजी एजुकेसनको चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ । विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिने ६ वटा गाडीमा समेत आन्दोलनकारीले आगो लगाइएको सीजीले जनाएको छ ।
‘जेनजी आन्दोलन क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले भनेका छन्, ‘यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वास साथ पुनर्निर्माण यात्रामा अगाडि बढेका छौँ र यस कठिन समयमा चौधरी ग्रुपसहित परिवारप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छ ।’









प्रतिक्रिया दिनुहोस्