‘यातायात व्यवसायी स्वयम् सुध्रिन जरुरी छ’



कोहलपुर ।

कोहलपुरको नयाँ बसपार्क व्यवस्थापन र सञ्चालनको एउटै विषयलाई लिएर पटकपटक छलफल गर्नु लाजको विषय भइसकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन् । कोहलपुर नगरपालिकाले बुधबार आयोजना गरेको ‘नयाँ बसपार्क व्यवस्थापन र सञ्चालन’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले आगामी दिनहरूमा नयाँ बसपार्क व्यवस्थापन र सञ्चालनको एउटै विषयमा नभइ कार्यविधिमा उल्लेख भएका कुराहरू हुन्छ र हुन्न भन्ने विषयमा मात्रै छलफल गर्नुपर्नेमा जोड दिए । बारम्मबार उही विषयमा छलफल हुने तर, यातायात व्यवसायी स्वयम् आफैँले पालाना नगर्ने कुराको अब अन्त्य हुनुपर्ने उनको भनाइ थियो । प्रत्येक महिनाको अन्तिममा बैठक बस्ने र कोहलपुर नयाँ बसपार्क सञ्चालन कार्यविधिबमोजिम यातायात व्यवसायीहरूले सवारीसाधान सञ्चालन गर्न उनले आग्रह गरे ।

आगामी दिनहरूमा ट्राफिक नियमको पालाना नगर्ने र जथाभावी राजमार्गमा सवारीसाधन रोक्ने व्यवसायीहरूलाई कानुनी दायरामा ल्याउने उनले चेतावनी दिए । कोहलपुरबाट सञ्चालन हुने अधिकांश यातायात व्यवसायीहरू नगरपालिकामा सूचीकृत नभएको बताउँदै उनले अबको एक महिनाभित्र पनि सूचीकृत नभए कानुनी प्रक्रियामा जाने बताए । आगामी बैठकहरूमा नगरपालिकामा सूचीकृत भएका समितिलाई मात्र बोलाइने र सूचीकृत नभएका समितिलाई अवैधरूपमा सञ्चालन भएको भन्दै मुद्दा हाल्ने समेत उनले चेतावनी दिए ।

पश्चिम नेपालको नमुना नयाँ बसपार्क निर्माण भएपनि यातायात व्यवसायीहरूले सवारीसाधन बसपार्कमा भन्दा सडकमा पार्किङ गर्ने गरेको भन्दै उनले आक्रोश पोखे । उनले कोहलपुर राजस्व कार्यालय अगाडी अर्काे बसपार्क देखेको र त्यो कस्ले चलाउँछ भन्दै यातायात व्यवसायीलाई प्रश्नसमेत गरे । नगरपालिकाले निर्माण गरेको कार्यविधि अक्षरस अध्ययन गर्न र पालाना गर्न उनले यातायात व्यवसायीहरूलाई आग्रह गरे । ‘यातायात व्यवसायी सक्नु हुन्छ भने आफैँ सुध्रिनुस्,’ उनले भने, ‘होइन भने कडाभन्दा कडा दण्ड गर्नुबाहेक अरु विकल्प छैन् ।’ कुनै पनि पेशा र व्यवसाय मर्यादित हुनुपर्ने उनी बताउँछन् ।

यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डम्मरपालले नेपाल प्रहरी र ट्राफिक प्रहरीले मात्रै कोहलपुरको ट्राफिक व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको बताए । कोहलपुरमा रहेको नयाँ बसपार्क निकै सुन्दर र सफा रहेकाले त्यसको संरक्षण गर्नु यातायात व्यवसायीको पनि दायित्व रहेको उनको भनाइ थियो । यातायात प्रालिहरूबीच पनि केही असन्तुष्टि रहको र त्यसको प्रभाव प्रत्यक्षरूपमा बाहिर देखिएको पनि उनको भनाइ छ ।

उनले यातायात व्यवसायीहरूले आफ्ना कर्मचारीहरू पोशाकमा खटाउन र सवारीसाधन बसपार्कमा बाहेक अन्य ठाउँमा रोकेर राख्ने कुराहरूको अन्त्य गर्नसके ट्राफिक व्यवस्थापन आफैँ हुने उल्लेख गरे । कोहलपुर चौराहादेखि पूर्व, पश्चिम, उत्तर र दक्षिणको ५ सय किलोमिटर सवारीसाधन रोक्न नपाइने भएपनि यातायात व्यवसायीहरूले लस्कर लाएर रोक्ने गरेको उनले बताए । ट्राफिक प्रहरी र नेपाल प्रहरी त्यसको समाधान गर्न रातदिन खटेपनि अझै सुधार हुन नसकेको उनको भनाइ थियो ।

स्थानीय सरकारले बनाएको कार्यविधि र कानुनको पालाना नेपाल प्रहरीले गर्ने प्रतिबद्धता जनाउँदै उनले त्यसको नेतृत्व नगर प्रहरीले गर्नुपर्नेमा जोड दिए । उनले नगर प्रहरीलाई साथ दिने र त्यस्ता गलत काम गर्ने यातायात व्यवसायीका कर्मचारीहरूलाई कारबाही गर्ने समेत प्रतिबद्धता जनाए । जबसम्म भित्रिमनबाट आफैँले सुधार गर्न लागिदैन् तबसम्म ट्राफिक व्यवस्थापन र बसपार्कभित्र सवारीसाधन प्रवेश गराउन सम्भव नरहने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुष्करराज पन्तले बताए । उक्त विषयमा धेरैपटक बैठक र छलफल भएपनि लागु हुन नसकेको उनको भनाइ छ ।

‘अहिले चौराहामा एउटा गाई गोरुलाई ट्राफिक प्रहरीले लखेटे जस्तो मात्रै भइरहेको छ,’ उनले भने, ‘हामीले सधैँ लखेटेर ट्राफिक व्यवस्थापन सम्भव हुँदैन् ।’ त्यसैले सवारीसाधन समय तोकेर बसपार्क भित्रबाट पठाउँदा ट्राफिक व्यवस्थापनमा सहज र भिडभाड कम हुने उनी बताउँछन्। उनले कोहलपुरको अटो व्यवस्थापन पनि भद्रगोल रहेकाले सबै एकजुट भएर यसको व्यवस्थापन हुनुपर्ने कुरामा उनले जोड दिए ।अटो तथा इ–रिक्साले जथाभावी राजमार्गमा यात्रु हाल्ने र झार्ने गर्दा दुर्घटना बढ्ने गरेकाले त्यसको अन्त्य गर्न सबै लागिपर्नुपर्ने बताए ।

यस्तै बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद शर्माले यातायात व्यवसायी स्वयम् आफैँ आफ्नो पेशाप्रति मर्यादित हुनुपर्ने कुरामा जोड दिए । एकले अर्कालाई दोष लगाउनु भन्दा स्वयम् आफूबाटै त्यसको सुरुवात गर्न उनले आग्रह गरे । यातायात व्यवसायीहरूले बसपार्कभित्र सवारीसाधन पार्किङ गर्ने, ट्राफिक नियमको पालाना गर्ने, बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि अक्षरस पालाना गरे सबै समस्या समाधान हुने उनले बताए ।

सूचीकृत नभएका यातायात व्यवसायी समिति एक महिनाभित्र सूचीकृत हुने, प्रत्येक महिनाको अन्तिममा छलफल तथा समीक्षा गर्ने, बसपार्क सञ्चालन कार्यविधि पालना गर्ने, कार्यविधिमा भएका केही त्रुटि भेटिए संशोधन गर्ने र बसपार्कभित्र अनिवार्यरूपमा सवारीसाधन पार्किङ गर्ने सहभागी सबैले निष्कर्ष निकालेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार