अवैध बसपार्कले संकटमा करोडौँका बसपार्क



बाँके प्रशासनले केही वर्षअघि मुख्य चोकहरूबाट कम्तीमा आधा किलोमिटर वरपर सवारीसाधन रोकेर यात्रु झार्ने चढाउने गर्न नमिल्ने निर्णय गरेको थियो । यस निर्णयको धज्जी यातायात व्यवसायीहरूले उडाइरहेका त छन् नै पुष्पलाल चोक नजिकै वाटरपार्टको गेटमा र धम्बोझी चोकबाट गुलरिया जाने सडकमै सवारीसाधनहरू रोकेर यात्रु चढाउने र झार्ने काम भइरहेको छ ।यस्तै कोहलपुरमा पनि कोहलपुर चौराहा आसपासको सडकमा पनि यस्तै अवस्था छ । करोडौँ लगानीमा निर्माण गरिएका बसपार्क र सुविधासम्पन्न बसपार्कका सटर तथा संरचनाहरू प्रयोगविहीन अवस्थामा छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

‘पसल त किनियो, तर यहाँ त व्यापारै हुँदैन । मान्छेहरू नै छैनन् । गाडीहरूले बाहिरका होटलबाटै मान्छे उठाएर लिन्छन् । पुष्पलाल चोकमा सानो बसपार्क बनाएका छन् । मान्छेहरू बरु त्यतैतिर हुन्छन्,’ नेपालगन्ज बसपार्कभित्र एउटा सटरमा नास्ता पसल सञ्चालन गरिरहेका एक व्यवसायीले भने । नेपालगन्ज उपमहानगरपालिको १६ करोड १६ लाख बढीको लगानीमा २०७६ सालमा निर्माण गरिएको बसपार्कका कतिपय सटरहरू निर्माण भएयता उपयोग भएका छैनन् ।

३५ वटा सटरमध्ये अहिलेपनि आधाभन्दा बढी सटरहरू अनुपयोगी छन् । मानिसहरूको चहलपहल बढी हुनुपर्ने बसपार्क प्रायः सुनसान हुन्छ ।अरुबेला त बिरलै मानिसहरू बसपार्क पुग्छन् । अहिले दसैँको बिदा मनाएर विशेषगरी काठमाडौँ फर्किने यात्रुहरू टिकट काट्नका लागि बसपार्क पुग्ने गरेपनि अरु यात्रुहरू बसपार्कसम्म पुग्दैनन् । यात्रुहरू त हुन्छन् कि त होटलहरूमा कि त पुष्पलाल चोक र धम्बोझी चोकमा रहेका अवैध बसपार्कहरूमा ।

जिल्ला प्रशासन कार्यालय बाँकेले केही वर्षअघि मुख्य चोकहरूबाट कम्तीमा आधा किलोमिटर वरपर सवारीसाधन रोकेर यात्रु झार्ने चढाउने गर्न नमिल्ने निर्णय गरेको थियो । यस निर्णयको धज्जी यातायात व्यवसायीहरूले उडाइरहेका त छन् नै पुष्पलाल चोक नजिकै वाटरपार्टको गेटमा र धम्बोझी चोकबाट गुलरिया जाने सडकमै सवारीसाधनहरू रोकेर यात्रु चढाउने र झार्ने काम भइरहेको छ । यस्तै कोहलपुरमा पनि कोहलपुर चौराहा आसपासको सडकमा पनि यस्तै अवस्था छ । जसले गर्दा यी क्षेत्रमा सडक साँघुरो भएर यात्रा असहज हुनुका साथै जोखिमपूर्ण बनिरहेको अवस्था छ ।

अर्काेतिर करोडौँ लगानीमा निर्माण गरिएका बसपार्क र सुविधासम्पन्न बसपार्कका सटर तथा संरचनाहरू प्रयोगविहीन अवस्थामा छन् । सडकमै सवारीसाधन रोकेर यात्रु चढाउने र झार्ने कामले बसपार्कको व्यवस्थापनमा पनि चुनौती थपेको छ । नेपालगन्ज र कोहलपुरका बसपार्कहरू व्यवसायीहरूले वार्षिक निश्चित रकम बुझाउनेगरी ठेक्कामा व्यवस्थापन गर्न दिइएको छ । पहिले सटरसहितको ठेक्का दिइएकोमा अहिले टर्मिनल भवन तथा सवारीसाधनको चलानी तथा पार्किङ व्यवस्थापनको मात्रै ठेक्का दिइएको छ ।

नेपालगन्ज र कोहलपुर बसपार्क व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले अहिले नेपालगन्जबाट दैनिक तीन सयभन्दा बढी यात्रुबाहक सवारीसाधन छुट्ने गरेकोमा बसपार्कभित्र त्यसको आधा सङ्ख्यामा मात्रै सवारीसाधनहरू पस्ने गरेका बताए । बाँकी सवारीसाधनले सडकबाटै र अवैध बसपार्कहरूबाटै यात्रुहरू चढाउने र झार्ने गरेका उनको भनाइ छ । नेपालगन्ज बसपार्कको एक करोड ४३ लाख र कोहलपुर बसपार्क ७१ लाख ७७ हजार रूपैयाँँ वार्षिक नगरपालिकालाई बुझाउनुपर्ने सम्झौता गरिएको छ ।

‘बसहरू बसपार्कभित्र जाने वातावरण नबाउने हो र बाहिरबाटै यात्रु लिने लैजाने गर्न दिने हो भने हामीले कसरी बसपार्क व्यवस्थापन गर्न सक्छौँ? नेपालगन्ज र कोहलपुर दुवै नगरपालिकाले यसबारेमा गम्भीर भइदिनुपर्छ,’ आचार्यले भने । पुष्पलाल चोक र धम्बोझी चोकमा सडकमै यात्रु चढाउने र झार्ने गरेर सञ्चालन भइरहेका अवैध बसपार्कहरू व्यक्तिगत जग्गाहरू भाडामा लिएर सञ्चालन भइरहेका छन् । यस्ता बसपार्कहरू सञ्चालन गर्नमा बस व्यवसायी समितिकै मानिसहरू संलग्न छन् ।

पुष्पलाल चोकमा सञ्चालनमा रहेको बसपार्कका लागि नेपालगन्ज उपमहानगरकै अनुमति रहेको सम्बद्ध व्यवसायीहरू दाबी गर्छन् । तर उपमहानगरका प्रवक्ता प्रमोद रिजाल औपचारिक अनुमति सडकमै अवरोध हुने र वाटरपार्कको गेटमा अवरोध नहुनेगरी व्यक्तिगत जग्गामा मात्रै बसपार्क सञ्चालन गर्न स्वीकृति दिइएको आफूले थाहा पाएको बताउँछन् । अहिले वाटरपार्ककको गेट नै ढाकेर सवारीसाधनहरू राखिएका हुन्छन् ।

यसैगरी धम्बोझीदेखि गुलरिया जाने सडक आसपासमा पनि व्यक्तिगत जग्गा भाडामा लिएर साना साना बसपार्कहरू सञ्चालन भइरहेका छन् ।त्यस्ता बसपार्कहरू नाममात्रैका रहेकोले सवारीसाधनले सडकमै यात्रु झार्ने र चढाउने गर्दा उक्त क्षेत्रको अस्तव्यस्त जोखिमपूर्ण अवस्थामा रहेको छ । त्यसैमाथि इ–रिक्साहरू पनि सडकमै पार्किङ गरिएका हुन्छन् । अर्काेतिर सवारीसाधनका कर्मचारी धम्बोझी चोकमा सडकमै उभिएर इ–रिक्सामा आएका यात्रुहरूलाई आफ्नो गाडीमा लैजानका लागि लुछाचुँडी र तानातान गरिरहेका हुन्छन् । यस्तो अवस्थामा पनि प्रहरी म्ूकदर्शक भएर बसिरहेको अवस्था छ ।

यति मात्रै होइन बसपार्क हुँदै पुष्पलाल चोक निस्कने सडक आसपासमा र पुष्पलाल चोकमा रहेका होटल सञ्चालकहरूले भारतबाट फर्किएका यात्रुहरूलाई सीमावर्ती भारतीय बजार रुपैडिहासम्मै पुगेर फकाउँदै आफ्नो होटलमा ल्याइपु¥याउँछन् । त्यसरी आफ्नो होटलमा बसेकाहरूलाई उनीहरूले प्रतिव्यक्ति ५० देखि एक सय रूपैयाँँ कमिसनमा सौदाबाजी गरेर यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालकहरूसँग सम्पर्क गर्छन् । त्यसपछि बसपार्कभित्रबाट खाली छुटेका सवारीसाधनहरू होटलहरू अगाडि रोकेर त्यहीँबाट मानिसहरू चढाउँछन् ।

अस्वस्थ प्रतिस्पर्धाको होडबाजीमा सवारीसाधनहरूले सडकमै रोकेर मान्छे चढाउने र झार्ने गर्दा सडक नै अस्तव्यस्त हुन्छ । सडकमा ट्राफिक प्रहरीको उपस्थिति प्रायः देखिँदैन । बाँके ट्राफिक प्रहरी प्रमुख पुष्करराज पन्त ट्राफिक प्रहरीको सङ्ख्या नै कम रहेको अवस्थाका अतिरिक्त पनि आफूहरूले सडक नियम पालनको प्रयत्न गरिरहेको बताउँछन् । उनले मुख्य बसपार्क छोडेर बनाइएका अरु बसपार्कहरूको सन्दर्भमा स्थानीय सरकारले नै स्पष्ट नीति बनाएर नगर प्रहरी खटाउनुपर्ने र बस व्यवसायीहरूले पनि मुख्य बसपार्क नै प्रयोग गर्ने गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले बसपार्क नै हटाउ भनेर भन्न सक्दैनौँ । सडकमा रोकेमा कारबाही गरिरहेका छौँ । तर, जबसम्म व्यवसायीहरू आफै इमान्दार भएर बसपार्कबाहेक अन्त नरोक्ने गर्नुुहुन्न र अरु बसपार्कलाई उपमहानगरले बन्द गर्दैन तबसम्म समस्या समाधान नहुने देखिन्छ ।’ उनले धम्बोझी चोकमा यात्रुवाहक साधन सडकमा रोक्ने प्रवृत्ति रोक्न नन्दनी मिलबाटै वनवे गरेर कारकाँदो निस्कने व्यवस्था गरेको, बसपार्क क्षेत्रमा मोटरसाइकल गस्ती गर्ने गरिएको, चोकहरूमा खटिएका प्रहरी सडकमा रोक्न नदिन खटाइएको बताए ।

‘तर, प्रहरी नहुनेबित्तिकै फेरि सडकमै आइहाल्छन्,’ उनले भने । नेपालगन्ज बसपार्कमा केही दिन नगर प्रहरीलाई पनि खटाइएको थियो । तर, प्रहरीको सक्रियता देखिएन । अहिले त प्रहरी नै हटाइएको छ । कोहलपुर नगर प्रहरी पनि सकडमा रोक्ने सवारीसाधनलाई कारबाही गर्नेगरी खटिने गरेको नगर प्रहरी प्रमुख वीरबहादु्र थापाले जानकारी दिए । तर व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले यो प्रवृत्ति कम हुन नसकेको थापाले पनि दाबी गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले नगरप्रमुख अहिले भारतमा रहेकाले फर्किएपछि उपमहानगरको बसपार्क व्यवस्थित गर्न र अन्य अवैध बसपार्कहरू बन्द गर्नका लागि पहल गर्नका छलफल गर्ने बताए । यसमा बसपार्क व्यवस्थापनको जिम्मा लिएका व्यवसायी, ट्राफिक प्रहरी र सबै व्यवसायीहरूले पनि साथ दिनु आवश्यक रहेको उनको भनाइ छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले पनि बसपार्कको सदुपयोग र सडकमा सवारीसाधन रोक्ने प्रवृत्तिविरुद्ध कडाइपूर्वक कदम चालिने बताइन् ।

कोहलपुरमा चारबुँदे सहमति

कोहलपुर नगरपालिकाले बसपार्क व्यवस्थापन र सडकमा सवारीसाधन पार्किङ गर्न रोक्नका लागि बुधबार आह्वान गरेको बैठकमा चारबुँदे सहमति गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षता र ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायतको सहभागितामा भएको बैठकले चोक आसपासको पाँच सय मिटर क्षेत्रमा सवारीसाधन पार्किङ निषेधलाई पालना गर्ने तथा सबै सवारीसाधन बसपार्क प्रवेश गराउने, महिनामा एकपटक समीक्षा बैठक बस्ने, बसपार्कको काउन्टरबाहेक अन्यत्र टिकट नकाट्ने, यात्रु सेवाप्रदायक कर्मचारीहरूले परिचयपत्र र पोशाक अनिवार्य पालना गर्ने निर्णय गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । थापाले अब सहमतिको कार्यान्वयनका लागि नगर प्रहरी परिचालन हुने र ट्राफिक प्रहरीसँग पनि सहकार्य गरिने बताए । उनले सहमति कार्यान्वयनका लागि सम्बद्ध सबैसँग आग्रह पनि गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार