दैलेख ।
जिल्लामा कार्यरत संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमध्ये उत्कृष्ट सेवा प्रवाह गर्ने तीन जना कार्यालय प्रमुखलाई सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले २२औँ निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कार्यालय प्रमुख छनोट गरी पुरस्कृत गरेको हो । जिल्ला प्रशासन कार्यालयले उत्कृष्ट कार्यालय प्रमुखका लागि आवेदन माग गरेअनुसार जिल्लामा रहेका संघ, प्रदेश र स्थानीय तहका ११ वटा कार्यालय प्रमुखले आवेदन दिएका थिए ।
तर विभिन्न मापदण्डका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले आर्थिक वर्ष २०८१–८२ का लागि तीन जना कर्मचारीलाई छनोट गरेको थियो । जसअनुसार संघीय कार्यालयबाट जिल्ला कारागार दैलेखका जेलर लिलु गिरी, प्रदेशका कार्यालयबाट खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्रसुन्दर मल्ल र स्थानीय तहबाट दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकलाई उत्कृष्ट कार्यालय प्रमुखका रूपमा पुरस्कृत तथा सम्मान गरिएको हो ।
उत्कृष्ट कार्यालय प्रमुख छनोट समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले उत्कृष्ट कार्यालय प्रमुख छनोट गर्दा विभिन्न मापदण्डका आधारमा उत्कृष्ट पाइएका कार्यालय प्रमुखलाई पुरस्कृत गरिएको बताए । उनका अनुसार गत वर्षको वार्षिक प्रगति, बेरुजु फछ्र्याेट, कार्यालयको व्यवस्थापन, दरबन्दी अनुसारको कार्यालय व्यवस्थापन, कार्यालय प्रमुख र कर्मचारीको नियमितता, सूचना अधिकारी र गुनासो सुनाइ अधिकारी लगायतका मापदण्ड राखिएको थियो ।
यस्तै सार्वजनिक सेवा प्रवाह, नागरिक बडापत्र, जिन्सी व्यवस्थापन, नियमित कर्मचारी बैठक, बिचौलियारहित सेवा प्रवाहका लागी भएका प्रयास, समन्वय, सहकार्य र आफ्नै प्रयासमा गरेका विभिन्न कुरालाई राखेर उत्कृष्ट कार्यालय प्रमुख छनोट गरिएको उनले बताए । उत्कृष्ट कार्यालय प्रमुखका रूपमा पुरस्कृत कार्यालय प्रमुखलाई जनही पाँच हजार र सम्मानपत्रले सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विकास, सुशासन, पारदर्शीतालाई प्रमुखता दिएर निजामती कर्मचारीले सेवा प्रवाह गर्नुपर्ने बताए ।
सेवाप्रवाह गर्दा कुनै समस्या परेको खण्डमा त्यसको संरक्षण गर्नुका साथै गलत गर्ने कर्मचारी दण्डित हुनुपर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा उत्कृष्ट कार्यालय प्रमुखका लागी संघीय कार्यालय, प्रदेशका कार्यालय र स्थानीय तहका सबै कार्यालय प्रमुखले आफूलाई योग्य बनाएर दाबी पेस गर्ने उनको अपेक्षा छ ।
निजामती दिवसको अवसरमा आयोजना गरिएको कवितावाचन प्रतियोगितामा खगेन्द्रप्रसाद रिजालको ‘भै राष्ट्रको सेवक’ प्रथम, लक्ष्मीकुमारी उपाध्यायको ‘निजामती सेवा’ द्वितीय, साधना तिवारीको ‘पोशाकमा देखिने देश’ तृतीय र शिवराज रुपाखेतीको ‘स्वच्छ सबल प्रशासन’ कविताले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई पनि क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्