कालीकोट ।
भदौ १८ गते बुधबार दिउँसदेखि बेपत्ता रास्कोट नगरपालिका–८ फुकोटका वडाध्यक्ष मनिराज बरालको कोट फेला परेको छ । रास्कोट–७ नडीस्थित कर्णाली नदीको किनारमा कोटको बाहुला काटिएको अवस्थामा फेला परेको आफन्तले बताएका छन् । फेला परेको कोट वडाध्यक्ष बरालकै भएको आफन्तले बताएका छन् । आफन्त विष्णु बरालका अनुसार वडाध्यक्षलाई वडा कार्यालय र निजी घर बनाउने कामको अलि तनाब थियो ।
नदी किनारमा कोट भेटिँदा नदीमा कुनै दुर्घटना भयो कि भन्ने आशंका रहेको उनको भनाइ छ । रास्कोट–५ लामासिनस्थित ससुराली घर जाने भनेर हिँडेका बराल बुधबारदेखि बेपत्ता भएका हुन् । वडाबाट रास्कोट नगरपालिका पुग्न आधा घण्टा पैदल लाग्छ भने नदी किनार पुग्न एक घण्टाभन्दा बढी पैदल ओरालो झर्नुपर्छ । काम सकेर ससुराली घर जान भनेर हिँडेका वडाध्यक्ष बराल बेपत्ता भएको रास्कोट नगरप्रमुख धर्मराज शाहीले जानकारी दिए ।
रास्कोट नगरका सबै वडा र हिँड्ने बाटोमा नगर प्रहरी र स्थानीयले खोजी गरेका छन् । तर उनी नभेटिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । नदी किनारमा उनले लगाएको कोटको बाहुला काटिएको अवस्थामा भेटेको भनेर प्रहरीलाई खबर आएको उनको भनाइ छ । यसबारे प्रहरीले खोजी र अनुसन्धान दुवै गरिरहेको छ ।
रास्कोट नगरपालिकाका अनुसार वडाध्यक्ष बराल चार महिनादेखि मानसिक बिमारको औषधि सेवन गरिरहेका थिए । उनी नगरपालिकाको आरसीपी बजारमा पक्की घर पनि बनाउँदै थिए । उनी २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चुनावमा निर्वाचित भएका थिए ।








प्रतिक्रिया दिनुहोस्