कोहलपुरका दुई स्थानबाट सर्पको उद्धार



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट सर्पको उद्धार गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२ र १४ बाट दुई वटा सर्पहरूको उद्धार र व्यवस्थापन गरिएको हो । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार एकैदिनमा दुई स्थानमा सर्प उद्धार तथा व्यवस्थापन गरिएको हो ।

आइतबार बिहान ७ बजेको समयमा कोहलपुर–१४ पार्वतीपुरस्थित बागेश्वरी ड्राइभिङ सेन्टरको कार्यालय कक्षमा सर्प भेटिएको जानकारीपछि नगर प्रहरी पुगेर सफल उद्धार गरेको हो । यस्तै कोहलपुर–१२ चप्परगौडीस्थित मेट्रो मार्टको स्टोर कक्षमासमेत सर्प भेटिएको थियो । कोहलपुर क्षेत्रका दुई स्थानबाट कोब्रा जातको विषालु सर्प उद्धार र व्यवस्थापन गरिएको उनले बताए ।

नगर प्रहरी, सवडिभिजन वन कार्यालय कोहलपुरको समन्वयमा उद्धार गरी बाँके राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा छोडिएको उनको भनाइ छ । ‘हाल वर्षातको समय चलिरहेको छ । बढी पानी परेको समयमा सर्प जमिन मुनिबाट बाहिर निक्लने, घर कोठाभित्र पस्ने गरेको छ । सर्पबाट बच्नको लागि आफ्नो घर, आँगन, करेसाबारी सरसफाइ गर्नहुन सबैलाई अनुरोध गरेका छौँ ।’ उनले भने ।

यस्तै उनले घर छेउमा रहेका दुलो, दाउराको थुप्रो, घाँसको झाडीमा विशेष ध्यान दिइ सावधानी अपनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् । यसअघि कोहलपुर नगरपालिकाको वडा नम्बर २ बाट अजिंगरको उद्धार गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार