एक वर्षमा २८ किमि सडक कालोपत्रे



जुम्ला ।

तीन जिल्ला कार्यक्षेत्र रहेको सडक डिभिजन जुम्लाले सडकको स्तरोन्नति तथा विस्तारको काम गर्दै आएको छ । डिभिजन कार्यालयले जुम्ला, मुगु र कालीकोट जिल्लामा सडक पूर्वाधार तथा पक्की पुल निर्माण गर्दै आएको हो । कर्णाली राजमार्गको दैलेखको दैखोलादेखी जुम्लातर्फ १०४ किमि खण्ड, नाग्म–गमगडी सडक, त्रिवेणी–टोप्ला सडक, जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ जोड्ने सडक, निर्वाचन क्षेत्र रणनीति सडक निर्माण र नाग्म–गमगडी सडकमा १० वटा पक्की पुल लगायतका सडक पूर्वाधार निर्माणका काम सडक डिभिजनले गर्दै आएको छ ।

सडक डिभिजन जुम्लाको वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा जम्मा २८ किलोमिटर सडक मात्रै कालोपत्रे गरेको देखिएको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा तीन जिल्लामै गरी २८ किलोमिटर सडक कालोपत्रे भएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी प्रदिप चौधरीले बताए । जुम्ला तथा कालीकोट खण्डमा विभिन्न ठेक्कामार्फत ३३ करोड बढीको लगानीमा झण्डै ४३ किलोमिटर सडक कालोपत्रे सुरु भएपनि ती कामहरू पूर्णरूपमा सम्पन्न नभएकाले गत वर्षको प्रगतिमा जोडिएको छैन् ।

पूर्णरूपमा काम सकिएका ठेक्कामार्फत कालोपत्रे भएका विवरणलाई मात्र प्रगतिमा उल्लेख गरिएको छ । सोहीअनुसार सडक डिभिजनले गत आर्थिक वर्षमा जुम्ला सिंजा क्षेत्रको गोठिज्युला, कर्णाली राजमार्गअन्तरर्गत नाग्म–जुम्ला खण्ड, कालीकोटको पिलि तथा बिहानखोला क्षेत्र लगायतका खण्डमा गरी २८ किमि सडक कालोपत्रे भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

सडक डिभिजनको वार्षिक प्रगति प्रतिवेदनअनुसार तीन वटै जिल्लामा गरी गत वर्ष २ हजार ५ सय मिटर सडक मात्रै ग्राभेल गरिएको छ भने नयाँ ट्रयाक निर्माण तथा साँघुरो स्थानमा चौडा बनाउने काम १७.५ किलोमिटर भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी रिजिट पेभमेन्ट (स्तरोन्नति) सडकअन्तर्गत एक हजार ८५ मिटर निर्माण भएको छ । एक वर्षमा मुख्य सडक कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक, जुम्ला खण्डमा कालोपत्रे भएपनि वर्षौँपहिला निर्माण गरिएका जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ जोड्ने सडक, त्रिवेणी–टोप्ला सडक निर्वाचन क्षेत्र रणनीतिक सडकहरू वर्षौँसम्म हिलाम्य र धुलाम्य रहेका छन् ।

बजेट अभावले कर्णालीकै लाइफलाइन मानिने कर्णाली राजमार्ग र पर्यटकीय मार्ग नाग्म–गमगडी सडककै स्तरोन्नतिको कामले गति लिन सकेको छैन् भने अन्य सहायक सडकहरू अझै वर्षौँसम्म ग्राभेल तथा कालोपत्रे हुने स्थिति पनि छैन । सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरी बजेट अभावका कारण कालापत्रेको काम अघि बढाउन नसकेको बताउँछन् । उनी भन्छन, ‘नियमित आउने सडक स्तरोन्नति, सडक चौडा बनाउने जस्ता आयोजनामा बाहेक सडक कालोत्रपे भनेर ठोस बजेट विनियोजन नहुने भएकोले काम गर्न समस्या छ ।

यहाँका सबै नेताहरूको पहल भएको खण्डमा बजेट विनियोजन भएपछि मात्रै सबै क्षेत्रमा कालोपत्रे गर्न सकिन्छ । अन्यथा कार्यालयले नियमित कामबाहेक अरु गर्न सक्दैन् ।’ कर्णाली राजमार्गको जुम्ला खण्डमा भएको कालोत्रपे उप्किएपछि गुणस्तरमै प्रश्न उठिरहेको छ । ठेकेदारको समय बाँकी रहेको र भुक्तानी पनि बाँकी रहेकाले कमीकमजोरी रहेको ठाउँमा पुनः कालोपत्रे गर्न लगाउने सडक डिभिजनले जानकारी दिएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाअन्तर्गत ९ वटा शीर्षकमा सडक पूर्वाधार तथा पुल निर्माणका लागि एक अर्ब १५ करोड ६२ लाख विनियोजन भएकोमा खर्च ७३ करोड ३९ लाख ८५ हजार अर्थात् ६३.४८ प्रतिशत मात्रै विकास खर्च भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार