महेन्द्र पुस्तकालयद्वारा पुरस्कार प्रदान



नेपालगन्ज ।

महेन्द्र पुस्तकालय नेपालगन्ज बाँकेले साहित्यकार र कविता प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । आइतबार १८औँ राष्ट्रिय पुस्तकालय दिवस विशेष कार्यक्रमका अवसरमा माधुरी बद्रीविक्रम व्याख्यानमाला व्याख्यानकर्ताको रूपमा प्रा. डा. कृष्णप्रसाद घिमिरेलाई पुरस्तकार तथा सम्मान अर्पण गरिएको छ भने माधुरी साधना पुरस्कार–२०८२ बाट उत्तमकृष्ण मजगैंयालाई सम्मानित गरिएको छ ।

उनीहरूलाई जनही २०–२० हजार नगद राशीले सम्मान गरिएको हो । यसैगरी पुस्तकालय दिवसको अवसरमा आयोजित कविता प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो । कविता प्रतियोगितामा रेखा थापाले प्रथम, शर्मिला बिष्टले द्वितीय तथा भरत शाही ठकुरीले तृतीय स्थान हासिल गरेका थिए । उनीहरूलाई प्रमाणपत्र तथा नगद राशीले पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरूले आ–आफ्नो कविता पनि वाचन गरेका थिए ।

यसैगरी सान्त्वना पुरस्कार र प्रमाणपत्र सौगत भट्ट र अनु थापालाई प्रदान गरिएको थियो । कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३ हजार, २ हजार, १ हजार र सान्त्वना २ जनालाई पाँच–पाँच सय र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी पुस्तकालयको सर्वाधिक नियमित पाठकको सम्मान उच्च अदालतका अधिकृत मोतीप्रसाद देवकोटालाई प्रदान गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षता र प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुस्तकालयको मुखपत्र ‘वाङ्मय जगत’को ५औँ अंकको पनि लोकार्पण गरिएको थियो । कार्यक्रममा माधुरी बद्रीविक्रम व्याख्यानमाला–३ अन्तर्गत ‘धार्मिक सद्भावमा साहित्यको भूमिका’ विषयमा प्रा. डा. घिमिरेले प्रस्तुति दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार