पर्यटकका लागि रुपन्देहीमा टुर प्याकेज कार्यक्रम घोषणा



श्यामलाल पोखरेल । बुटवल ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले टुर प्याकेज कार्यक्रम ल्याएको छ । आवास, खाना, यातायात, टुर गाइड एवं विभिन्न भौगोलिक धार्मिकस्थलहरूको भ्रमणसहितको एकीकृत टुर प्योकज कार्यक्रम ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि समयको बचत, धनको बचत हुनुका साथै बजार चलायमान गराएर रोजगारी सिर्जना गर्न सकिने र स्थानीय उत्पादनहरूको बजारीकरण गर्न सकिने भएकाले टुर प्याकेज कार्यक्रम ल्याइएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधकुमार खनालले बताए ।

४६औँ विश्व पर्यटन दिवसको अवसरमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा पर्यटकका लािग टुर प्याकेज कार्यक्रम सार्वजनिक गरेको हो । अतिथि देवो भवः भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आतिथ्यता, सुरक्षित बसाइँ, स्वस्थ्यकर खाना हाम्रो पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धन कला संस्कृतिको संरक्षण हाम्रो अभियान भन्ने नारासहित संघले २ रात ३ दिनको टुर प्याकेज कार्यक्रम ल्याएको हो ।

एकीकृत टुर प्याकेज कार्यक्रमले कला संस्कृतिको संरक्षण हुने, दीगो पर्यटन प्रवद्र्धन गर्न सकिने र सूचनाको आदानप्रदान सहज हुने रुपन्देहीका पर्यटन व्यवसायीको अपेक्षा छ । विशेष गरेर विश्वका विकसित मुलुकहरूमा पर्यटनको विकाससँगै टुर प्योकजले सार्थकता पाएकाले नेपालमा पनि यसको सम्भावना अधिक रहेकाले यस्तो कार्यक्रम ल्याइएको संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए । उनले पर्यटकलाई आवास र खानासहित रुपन्देहीका रमणीय तथा पर्यटकीय स्थलहरूको अवलोकन गराइने बताइएको छ ।

पहिलो दिन बुटवलबाट देवदह, भैरहवा हुँदै लुम्बिनी, बुद्ध सर्किट यात्रासँगै बुद्धको जन्मस्थलमा रहेका देवी मन्दिर, अशोक स्तम्भलगायतका विभिन्न देशद्वारा निर्मित स्तुपाहरूको अवलोकनपछि तिलौराकोट हुँदै बुटवल फर्कन टुर प्योकज कार्यक्रमको सेडुल मिलाइएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै दोस्रो दिन बुटवलको हिलपार्क, शिद्धबाबा धाम, दुवै केवलकार, कामाख्या र भैरव बाबा मन्दिरको दर्शन, मणिमुकुन्द सेन उद्यान, जीतगढी किल्ला, बनबाटिका अवलोकन गराइनेछ ।

टुर प्योकज कार्यक्रममा चार जनादेखि माथिको सङ्ख्या हुनुपर्ने र १६ जनाभन्दा माथि भएमा १५ प्रतिशत छुट, बच्चाहरूका लागि २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले जानकारी गराए । टुर प्याकेज कार्यक्रमका लागि प्रतिव्यक्ति ८ हजार रूपैयाँँ लाग्ने उपाध्यक्ष थापाले बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले ४६औँ विश्व पर्यटन दिवसको अवसरमा शनिबार मोटरसाइकल ¥यालीपछि अन्तरक्रिया गरेको छ ।

जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रमा बढ्दो सुरक्षाको विषयमा मध्यनजर गर्दै ‘नेपाल सुरक्षित गन्तव्य’ भन्ने नारासहित संघले कार्यक्रम आयोजना गरेको हो । बुटवलबाट सुरु भएको मोटरसाइकल ¥याली भैरहवाको सुनौली नाकासम्म पुगेको थियो । उक्त मोटरसाइकल ¥यालीपछि सुनौलीमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे, संघका अध्यक्ष माधवकुमार खनाल, प्रमुख सल्लाहकार माधवप्रसाद नेपाल, संघका प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, होटल व्यवसायी महासंघका उपसचिव राजेश महहोत्रा, नाटा रुपन्देहीका अध्यक्ष चन्द्रबहादुर थापा, नाटा लुम्बिनी प्रदेशका सल्लाहकार कृष्णप्रसाद अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले अष्ट्रेलियन पर्यटक बारबारा खादा, माला र मायाको चिनोले स्वागत गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले पर्यटन व्यवसायीलाई ढुक्क भएर पेशा व्यवसाय चलाउन आग्रह गर्दै सुरक्षाको चिन्ता नर्गनसमेत आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पर्यटन व्यवसायलाई चलायमान बनाउनु पर्ने बताउँदै देशमा विषम अवस्थाको सिर्जना भएपनि आफ्नो पेशा व्यवसायप्रति प्रतिवद्ध भएर लाग्न आग्रह गरे । जेनजी आन्दोलनमा भएको घुसपैठले देशमा ग्रहण लाग्दा पर्यटन क्षेत्रमा पनि त्यो ग्रहणले छोएकाले देशलाई चलायमान बनाउन पर्यटन व्यवसाय चलायमान हुनुपर्नेमा जोड दिए ।

संघका पूर्वअध्यक्ष समुन्द्र जीसी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बिमल भट्टराई, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि खत्री, संघका सल्लाहकार बालाराम भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, संघका पर्यटन उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोमाकान्त पाण्डे, कोषाध्यक्ष अर्जुन पोखरेललगायतले बालेको थिए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पर्यटन दिवसको अवसमा संघमा आबद्ध रुपन्देहीका सबै होटलहरूमा असोज ११ गतेदेखि १७ गतेसम्म लजिङ र फुडिङमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार