नेपालगन्ज ।
बाँकेमा रहेका हिन्दु धार्मिकस्थलहरूलाई बागेश्वरी मन्दिरसँग जोडी धार्मिक पर्यटनको सम्भावना बढाउन यस वर्षको दसैँबाट विशेष पर्यत्न गरिने भएको छ । दसैँको अवसरमा फूलपातीको दिन बाँकेका विशेष धार्मिकस्थलहरूबाट बाजागाजासहित बागेश्वरी मन्दिर पुगी बागेश्वरीबाट लगेको फूलपाती भित्र्याउने कार्यक्रम अघि सारिएको हो ।
यसरी विभिन्न धार्मिकस्थलबाट समूह र झाँकीसहित फूलपाती भित्र्याउन आउने काम पहिलोपटक हुन लागेको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले बताएका छन् । अधिकारीले पर्यटन व्यवसायीहरूको पहलमा हुन लागेको उक्त धार्मिक यात्राले भविष्यमा धार्मिक पर्यटन विकासका लागि भूमिका खेल्नसक्ने अपेक्षासहित समितिले आवश्यक व्यवस्थापन मिलाउने बताए । यसअघि बागेश्वरी मन्दिरमा सुरक्षा निकायको सक्रिय सहभागितामा फूलपाती भित्र्याउने गरिएको थियो ।
बाँकेको राप्ती सोनारी वडा नम्बर ३ स्थित भुवर भवानी मन्दिर, खजुरास्थित लक्ष्मीनारायण मन्दिर, नरैनापुरस्थित बाबा बर्फानी मन्दिरलगायतका स्थानबाट फूलपातीको दिन बाजागाजासहित नेपालगन्ज आउने कार्यक्रम रहेको जानकारी दिइएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकामा रहेको ऐतिहासिक भुवर भवानी मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्न फूलपातीको दिन आयोजना हुने उक्त यात्रामा सहभागी भइदिन सबै गाउँपालिकावासीलाई अनुरोध गरेको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ ले पनि सोही व्यहोराको अनुरोध गरेको छ । उक्त मन्दिर बागेश्वरी मन्दिरबाट करिब ४० किलोमिटर टाढा पर्छ । वडा नम्बर ३ का अध्यक्ष मिनकुमार थारूले भुवर भवानी मन्दिरमा पहिलोपटक बागेश्वरी मन्दिर पुगी फूलपाती भित्र्याउन लागिएको बताए । ऐतिहासिक र धार्मिक दुवै दृष्टिकोणले महत्वपूर्ण धार्मिकस्थललाई अर्काे त्यस्तै महत्वपूर्ण धार्मिकस्थलसँग जोड्ने पहल गरिएको र यसले भुवर भवानीको महत्व धेरै मानिसहरूसम्म पुग्ने अपेक्षा गरिएको बताए ।
उनले अहिले नेपालगन्जबाट भुवर भवानी मन्दिर पुग्न सडकका हिसाबले सहज पनि भइसकेकोले अब यसको महत्वको प्रचार गर्नु जरुरी महसुस गरिएको बताए । यसैगरी खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित लक्ष्मीनारायण मन्दिरले पनि मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्नका लागि बाजागाजासहित मन्दिरदेखि बागेश्वरी मन्दिर पुगी पुनः मन्दिर पुगेर फूलपाती भित्र्याइने जानकारी दिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बिहान साढे ७ बजेबाट यात्रा सुरु गरिने जानकारी दिएका छन् ।
यसैगरी, नरैनापुरस्थित बाबा बर्फानी र सन्तानेश्वरबाट पनि फूलपाती भित्र्याउन आउने तय भएको छ । कोहलपुर र बर्दियाका धार्मिकस्थल व्यवस्थापन समितिसँग पनि छलफल भइरहेको नाट्टा बाँके च्याप्टरका महासचिव भागीराम ओलीले जानकारी दिए । उनले नाट्टा तिर्थालुहरूको स्वागतमा सहकार्य गर्ने जानकारी दिए । ‘यस कार्यले भविष्यमा धार्मिकस्थललाई जोडेर आयोजना हुने पर्यटकीय गतिविधिलाई थप टेवा पु¥याउँछ भन्ने विश्वास लिएका छौँ,’ महासचिव ओलीले भने ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले अहिलेसम्म करिब आधा दर्जन धार्मिकस्थलबाट बाजागाजासहित मानिसहरू आउने जानकारी आएकोले समय व्यवस्थापन र सुरक्षा व्यवस्थापनको चुनौती पनि थपिने बताए । त्यसको व्यवस्थापनका लागि शनिबार बेलुकी सुरक्षा निकाय र सरोकारवालासहितको बैठक आह्वान गरिएको अधिकारीले जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्