बाँसगढीमा स्वास्थ्य बीमा सेवा सञ्चालनको तयारी



बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने भएको छ । नगरपालिकाले नगरस्तरमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको तयारी थालेको हो । कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरिएको छ । भाद्र १ गते स्वास्थ्य बीमा बोर्ड र बाँसगढी नगरपालिकाका प्रतिनिधिबीच सम्झौता भएको छ ।

सम्झौतामा प्रथम पक्षका तर्फबाट स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्ले र दोस्रो पक्षका तर्फबाट नगर अस्पताल बाँसगढीका मेडिकल अधिकृत डा.मनोजकुमार शाहले सम्झौतामा हस्ताक्षर गरेका छन् । रोहबरमा प्रथम पक्ष बोर्डका तर्फबाट उपसचिव पुण्य माया गुरागाई र दोस्रो पक्ष नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली रहेका छन् । दुई पक्षबीच सम्झौतामा आठ बुँदा उल्लेख गरिएको छ ।

सम्झौतामा पहिलो पक्ष (स्वास्थ्य बीमा बोर्ड)ले विभिन्न सात वटा काम गर्नेछ । दोस्रो पक्ष (बाँसगढी नगरपालिका)ले १५ बुँदाको अधिनमा रहेर कार्यक्रम सुरु हुनेछ । स्वास्थ्य बीमा बोर्डले कार्यक्रमका बारेमा जानकारी गराउने, प्रसार सामग्री उपलब्ध गराउने, कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्तिलाई बीमा व्यवस्थापन सूचना प्रणाली, दाबी भुक्तानी तथा उपचार खर्च दररेटबारे जानकारी गराउनेछ ।

नगरपालिकाले पहिलो पक्षलाई दाबी गरिएको भुक्तानी तोकिएको म्यादमै भुक्तानी गर्ने र औषधिहरू सम्झौता हुँदा बखतमै तोकिएकै दरमा भुक्तानी गर्नुपर्नेछ। सम्झौताअनुसार अब नगरपालिकाले प्रथम विन्दुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नेछ । बिमितको क्रियाशील अवधिभित्र नियमाओलीमा उल्लेख भए बमोजिमको सुविधा थैलीअन्तर्गतका सेवा प्रदान गर्नेछ । ‘नियमाओलीअनुसार गुणस्तरीय रूपमा सेवा सुरु गर्ने, दाबीहरू बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्न व्यवस्थापन मिलाउने, औषधि वितरण कक्ष व्यवस्थापन, सेवाग्राहीको गुनासो सुनुवाइ र व्यवस्थापन, उपचार संहिता प्रोटोकल पूरा गर्ने र दाबी भुक्तानी बीमा व्यवस्थापन सूचना प्रणाली अनुसार गनुपर्नेछ,’ सम्झौतामा भनिएको छ ।

सम्झौता अनुसारको सेवा उपलब्ध नगराएमा, लिखित प्रतिबद्धता कायम नभएमा, झुठा वितरण पेस गरेमा अनुगमन तथा मूल्यांकनबाट उठाइएका विषय निर्धारित समयावधिभित्र पालना नगरेमा सम्झौता रद्द गर्न सकिने जनाइएको छ । सम्झौताको ५ नम्बर बुँदामा सम्झौता कार्यान्वयन गर्ने सिलसिलामा कुनै द्विविधा वा विवाद उत्पन्न भएमा दुवै पक्षको सहमतिमा त्यस्तो द्विविधा वा विवाद समाधान गरिने उल्लेख गरिएको छ । सम्झौता पाँच वर्षको हुनेछ । सो अवधि समाप्त हुनुभन्दा तीन महिनाअगावै नवीकरणका लागि निवेदन दिनुपर्ने उल्लेख छ । सम्झौता भदौ २२ गतेदेखि लागु हुनेछ ।

बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्काले नागरिकको आवश्कतालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा सेवा सुरु गर्न लागिएको बताए । उनका अनुसार यसअघि बाँसगढीका नागरिकले बाँकेको बैजनाथमा गएर स्वास्थ्य बीमाको सेवा लिनुपर्ने बाध्यता थियो । अब भने आफ्नै घर आँगनमा सेवा लिन पाउने उनले बताए । उनले भने, ‘यसअघि हाम्रा नागरिकले सेवा लिन अर्को जिल्ला जानुपर्ने बाध्यता थियो । अब नगरपालिकाको पहलमा आफ्नै ठाउँमा सेवा पाउनेछन् । यही महिनाभित्र बाँसगढी नगरपालिकाले सेवा सुरु गर्नेछ ।’

नगर अस्पताल बाँसगढीका मेडिकल अधिकृत डा.मनोजकुमार शाहले नगरपालिकामा स्वास्थ्य बीमा सेवा सुरु गर्नको लागि बोर्डसँग सम्झौता भएको बताए । उनका अनुसार पहिलो चरणमा सम्झौता भएको छ । सम्झौताअनुसार भदौ महिनाबाटै सेवा सुरु हुनेछ । ‘नगर अस्पतालबाट सेवा प्रवाह हुन्छ । अब कर्मचारी व्यवस्थापन गर्छौँ । आवश्यक संरचना निर्माण गरेर सेवा प्रवाह गरिनेछ,’ उनले भने । सेवाका लागि आवश्यक भिडियो एक्सरे, ल्याबका सामग्री नभएका कारण स्वास्थ्य मन्त्रालयसँग माग गरिएको उनको भनाइ छ । मन्त्रालयले सहयोग नगरे नगरपालिकाले आफैँले खरिद गरेर भएपनि सेवा सुचारु गर्ने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार