‘आत्मालोचनासहित नयाँ संकल्प गरेर काँग्रेस अघि बढ्छ’



वीरेन्द्रनगर ।

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आत्मालोचनासहित नयाँ संकल्प गरेर काँग्रेस अघि बढ्ने बताएका छन् । पार्टी रूपान्तरणबारे अब बस्ने केन्द्रीय समिति बैठकले उक्त निर्णय लिने उनले जानकारी दिए । सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई युवाहरूको भावनासँग जोडेर गतिशील बनाउनको लागि केन्द्रीय समितिमा छलफल गर्ने बताए ।

‘यसबारे अब हामी गम्भीर समीक्षा गर्नेर्छौँ, हामी कहाँ कहाँ चुक्यौ ? पछिल्लो राजनैतिक घटनाक्रम अनुसार यस्ता अवस्था सिर्जना हुनेगरी कहाँ कहाँ हामीले ढङ्ग पु¥याएनौँ यो सबै कुराको गम्भिर समीक्षा हुनेछ’ उनले भने, ‘राज्य सञ्चालनमा रहँदा पनि जेनजी पुस्ताको आन्दोलनको यत्रो तयारीबारे पनि थाहा नपाएको विषयमा पनि गम्भीर छलफल गर्न आवश्यक छ । अब अरूलाई दोष लगाउने होइन, व्यक्ति, संस्था पार्टी सबैले आत्मसमीक्षा गरेर अघि बढ्नुको विकल्प छैन ।’

अब आत्मालोचना गर्दै फेरि जनताको अगाडि नयाँ संकल्प गरेर जानुपर्ने उनको भनाइ छ । पार्टीका नेता कार्यकर्तालाई पनि हाल माहौललाई थप उत्तेजना ल्याउने कुरा नगर्न उनको आग्रह छ । ‘संयम र धैर्यता अपनाउनु नै अहिलेको उत्तम विकल्प हो । संविधान बनाउने दलहरूको ठूलोे जिम्मेवारी छ ।

हामीले भड्किने कुरा गर्न हुँदैन’ उनले थपे, ‘अब जे नहुनु थियो भइसक्यो । तर देशमा ध्वंस गर्ने तचत्व र षड्यन्त्रकारी पत्ता लगाउन राजनीतिक दल एक भएर लाग्न जरुरी छ । यो आन्दोलन पूर्व डिजाइन गरेर गरियो अब पत्ता लगाउनुपर्ने आवश्यक छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार