सुर्खेतमा क्षति भएका कार्यालयको धमाधम मूल्यांकन



नन्दराम जैशी । सुर्खेत ।

जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यालयको मूल्यांकन गरिएको छ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सुर्खेतमा रहेका कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको थियो । उक्त क्षतिको अनुमानित मूल्य निकालिएको हो । क्षतिको अनुमानित मूल्य निकालेर जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको सम्बन्धित कार्यालयहरूले जनाएका छन् । सम्बन्धित कार्यालय प्रमुखहरूले प्रहरीको रोहबरमा क्षतिको अनुमानित मूल्य निकालेका हुन् ।

हालसम्म २४ वटा कार्यालयहरूको क्षतिको मूल्यांकन गरिएको छ । जसमा संघ अन्तर्गतका ६, प्रदेशका ५, स्थानीय तहका ११ र वीरेन्द्रनगर नगरपालिकाको कार्यालयसहित १२ वटा वडा कार्यालयले क्षतिको मूल्यांकन गरी बुझाएका हुन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार ६ वटा संघीय कार्यालय र ५ वटा प्रदेश कार्यालयहरूले क्षतिको मूल्यांकन प्रशासनमा पठाएका छन् । प्रशासनले नियमित क्षतिको मूल्यांकन प्रतिवेदन संकलन गरिरहेको छ ।

संघ अन्तर्गतका जिल्ला समन्वय समिति, सडक डिभिजन, भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना, नापी, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र उच्च सरकारी वकिल कार्यालयले आफ्नो कार्यालयमा आन्दोलनका बेला भएको क्षतिको मूल्यांकन गरी पठाएका हुन्। यी कार्यालयले पठाएको मूल्यांकन अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा भवन, फर्निचर, कम्प्यूटर लगायतका सामान क्षति भएका छन् । यसबाट ४० लाख ३ हजार बराबरको क्षति भएको समन्वय समितिको कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयको २० लाख चार हजार बराबरको एउटा सवारी साधनमा क्षति पुगेको छ । भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको टाटा सफारी गाडीमा ६० हजार रूपैयाँको क्षति भएको छ । नापी कार्यालय सुर्खेतमा भवन तथा कोठा, फर्निचर, कम्प्यूटर र सवारी साधनमा दुई करोड ६३ लाख ६० हजार ९९० रूपैयाँ बराबरको क्षति भएको छ । यो कार्यालयका क्षति भएका सवारी साधनहरूको मूल्य भने खुलेको छैन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा चार लाख १० हजार रूपैयाँ बराबरको क्षति भएको छ भने उच्च सरकारी कार्यालयको क्षतिको यकिन मूल्यांकन रकम खुलेको छैन ।

प्रदेश अन्र्तगत कार्यालयमा ठूलोे क्षति

आन्दोलनका क्रममा सुर्खेतमा रहेका प्रदेश अन्र्तगत कार्यालयमा ठूलोे क्षति पुगेको छ । सामाजिक विकास मन्त्रालयमा तीन लाख ५९ हजार बराबरको मोटरसाईकल जलेको छ । मुख्य न्यायाधिवक्ता कार्यालयको सवारी साधन र भौतिक संरचनामा एक करोड १४ लाख ६० हजार रूपैयाँ बराबरको क्षति भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयमा एक करोड ३२ लाख १६ हजार बराबरको क्षति भएको मूल्यांकन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एक करोड ७९ लाख रूपैयाँ बराबरको क्षति भएको छ । कर्णाली प्रदेश सभा सचिवालयमा भौतिक संरचना, फर्निचर, विद्युतीय सामग्री, सवारी साधान लगायतको क्षति हुँदा तीन करोड ९४ लाख १६ हजार बराबर क्षति भएको मूल्यांकन गरिएको छ ।

नगरपालिकामा पनि ठूलोे क्षति

स्थानीय तहअन्तर्गतका वीरेन्द्रनगर नगरपालिकामा दुई करोड ४६ लाख ३९ हजार बराबरको क्षति भएको छ । यसभित्र सुर्खेत सिटी हलको पनि क्षति समावेश गरिएको छ । वीरेन्द्रनगरका वडा नम्बर १ को कार्यालयमा २५ लाख, वडा नम्बर २ को कार्यालयमा ३९ लाख ६० हजार, वडा नम्बर ३ को कार्यालयमा एक करोड ६४ लाख, वडा नम्बर ४ कार्यालयमा ८५ लाख ३५ हजार, वडा नम्बर ५ कार्यालयमा ४६ लाख ७५ हजार, वडा नम्बर ६ कार्यालयमा एक करोड ३७ लाख ७४ हजार, वडा नम्बर ७ को कार्यालयमा १८ लाख ९६ हजार रूपैयाँ बराबरको क्षति भएको मूल्यांकन गरिएको छ ।

यस्तै वडा नम्बर ८ कार्यालयमा एक कोड ४८ लाख पाँच हजार, वडा नम्बर ९ को कार्यालयमा ३९ लाख ६० हजार, वडा नम्बर १० को कार्यालयमा ३५ लाख २५ हजार, वडा नम्बर ११ को कार्यालयमा ४१ लाख ४३ हजार र वडा नम्बर १२ को कार्यालयमा ६१ लाख ७३ हजार बराबरको क्षति भएको मूल्यांकन गरिएको छ । मूल्यांकन भएको वीरेन्द्रनगरस्थित कार्यालयको कूल क्षति २१ करोड १० लाख ५६ हजार बराबरको छ । योमध्ये वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूको क्षति १० करोड ९० लाख ८७ हजारको क्षति भएको मूल्यांकन भएको छ । संघ र प्रदेश तहका कार्यालयको क्षतिको मूल्यांकन १० करोड १९ लाख ६९ हजार बराबर रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार