कपुरकोटले पुनः निर्माण कोषमा दुई लाख सहयोग गर्ने



सल्यान ।

कपुरकोट गाउँपालिकाले जेन–जी आन्दोलनका क्रममा भएको क्षति पुनः निर्माणका लागि दुई लाख रूपैयाँ सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले आन्दोलनका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पुनः स्थापना तथा पुनः निर्माणका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ ।

सो कोष नेपाल सरकारले तोकेअनुसार आवश्यक सहयोगका लागि प्रयोग गरिने जनाइएको छ । संविधानको धारा २३२ अनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयलाई आधार मानेर यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले शोक सन्देश जारी गर्दै सहिद परिवारप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्र निर्माणतर्फको सामूहिक प्रतिबद्धताको रूपमा थोरै भएपनि पालिकाले सहयोग गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार