सेयर सदस्यका लागि सुलभ आवास कर्जा



बुटवल ।

बुटवलको धु्रबतारा सयपत्री सहकारीले सुलभ आवास कर्जा कार्यक्रम ल्याएको छ । आफ्ना सेयर सदस्यहरूका भलाइका लागि सहकारीले ८ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि सुलभ आवास कर्जा कार्यक्रम ल्याएको हो । सुलभ आवास कर्जामार्फत घर बनाउने सेयर सदस्यका लागि ३० लाखसम्म लगानी गर्न सकिने र यो कार्यक्रमअन्तर्गत ३ करोड लगानी गर्ने निर्णय गरिएको सहकारीको १९औँ वार्षिक साधारणसभामा अध्यक्ष मानबहादुर केसीले जानकारी गराएका छन् ।

सहकारीले सेयर सदस्यहरूका आर्थिक, सामाजिक र शैक्षिकस्तर बढाउने गरी विभिन्न खालका रचनात्मक कार्यक्रम ल्याइएको अध्यक्ष केसीले बताए । सामुदायिक विद्यालयहरूमा पढ्ने छात्रछात्राहरूलाई शैक्षिक प्रोत्सानस्वरुप विद्यार्थीलाई आर्थिकसहित पुरस्कृत गर्दै आएको छ । सहकारीले १९औँ साधारणसभाको अवसरमा पनि २ जना विद्यार्थीलाई सम्मानका साथ पुरस्कृत गरेको छ । त्यस्तै वृद्धवृद्धा, असल ऋणीहरू र धेरै सेयर सदस्य बनाउने सदस्यलाई प्रोत्सान, सम्मान तथा पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ सदस्य दयाराम खनालले सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले नियमसंगत चलाउन आग्रह गर्दै सबै सदस्यहरूको हितमा चलाउन आग्रह गरे । साधारणसभाको अवसरमा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाकर खनालले सेयर सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।

सहकारीका अध्यक्ष कुँवरले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मणिरत्न शर्माले आर्थिक प्रतिवेदन र वित्तीय लक्ष्य प्रस्तुत, लेखा सुपरीवेक्षण समिति संयोजक पशुपति पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सहकारीमा रिक्त रहेको महिला सदस्यमा कमला आचार्य पोखरेललाई सर्वसम्मतरूपमा चयन गरिएको सचिव विनोद खनालले जानकारी गराए । पोखरेललाई सहकारीका कानुनी सल्लाहकार तथा निर्वाचन समिति संयोजक अधिवक्ता माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा सहकारीका पूर्वअध्यक्ष तथा सल्लाहकार चुरामणि भुसाल, तुलसीराम शर्मा, सहकारीका उपाध्यक्ष ई। छविन्द्र भट्टराइलगायतले बोलेका थिए । त्यस्तै साधारणसभामा प्रस्तुत भएका विषयवस्तुबारे खुमानन्द भुसाल, गोपाल गैरे र डिल्लीप्रसाद पाध्याले सुझावहरू राखेका थिए।

आर्थिक वर्ष २०८१–०८२ असार मसान्तसम्म सहकारीको कूल सम्पत्ति २० करोड ५ लाख ७६ हजार २ सय ३२ रूपैयाँ ८ पैसा, सेयर पुँजी २ करोड १ लाख २० हजार रूपैयाँ, निक्षेप संकलन १५ करोड ४६ लाख १४ हजार ९४ रूपैयाँ ४४ पैसा रहेको कोषाध्यक्ष मणिरत्न शर्माको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीमा ७ सय ७ जना महिला र ६ सय ९६ जना पुरुष सदस्य गरी कूल १ हजार ४ सय ३ जना सेयर सदस्यहरू आबद्ध रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार