नेपालीहरूको सबैभन्दा ठूलो पर्व दसैँको माहौल सुरु भएसँगै भारतीय बजारहरूमा नेपाली उपभोक्ताहरूको भीड लाग्न थालेको हो। विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लाहरूमा जिल्लास्थित बजारभन्दा भारतीय बजारमा उपभोक्ता पुग्ने गरेका छन् । हरेक वर्ष विभिन्न चाडपर्वका बेला नेपाली उपभोक्ताहरूको रोजाइमा सीमापारीका बजार पर्ने गर्दछन् । विगतका वर्षहरूझैँ यस वर्ष पनि भारतीय बजारहरूमा नेपाली उपभोक्ताहरूको थामिनसक्नु भीड लाग्न थालिसकेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
दसैँ सुरु भएसँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भारतीय सीमावर्ती बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्न थालेको छ ।नेपालीहरूको सबैभन्दा ठूलो पर्व दसैँको माहौल सुरु भएसँगै भारतीय बजारहरूमा नेपाली उपभोक्ताहरूको भीड लाग्न थालेको हो । विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लाहरूमा जिल्लास्थित बजारभन्दा भारतीय बजारमा उपभोक्ता पुग्ने गरेका छन् । हरेक वर्ष विभिन्न चाडपर्वका बेला नेपाली उपभोक्ताहरूको रोजाइमा सीमापारीका बजार पर्ने गर्दछन् ।
विगतका वर्षहरूझैँ यस वर्ष पनि भारतीय बजारहरूमा नेपाली उपभोक्ताहरूको थामिनसक्नु भीड लाग्न थालिसकेको छ । नेपाली उपभोक्ता चाडपर्वलक्षित कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा पसलमा सामग्री खरिदका लागि ती बजारहरूमा पुग्ने गरेका कारण त्यहाँ उपभोक्ताको घुइँचो लाग्ने गर्दछ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये ६ वटा तराईका जिल्ला भारतसँग सीमा जोडिएका छन् । लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी भारतसँग सीमा जोडिएका जिल्ला हुन् ।
यस्तै सुदूरपश्चिमका, दार्चुला, कैलाली र कञ्चरपुरसमेत भारतसँग सीमा जोडिएका जिल्ला हुन् । बाँकेको (रुपैहिडा), बर्दियाको (सुरजपुर), रुपन्देहीको भैरहवा (सुनौली), कपिलवस्तुको (कृष्णनगर र मर्यादापुर), नवलपरासीको (महेशपुर) र दाङको (कोइलावास) लगायतका साना तथा ठूला बजारमा नेपाली उपभोक्ताहरूको भीड लाग्ने गरेको छ । यी नाका नेपाल–भारत सहजै आवतजावत गर्न सकिने मुख्य नाका हुन् । यी नाकासँगै जोडिएका भारतीय बजारमा नेपाली उपभोक्ताहरूको ठूलो भीड लाग्ने गर्दछ ।
नेपाल–भारत खुला सिमानाका कारण उपभोक्ताहरू सहजै भारतीय बजारहरूमा किनमेलका लागि पुग्दछन् भने नेपाली बजारभन्दा भारतीय बजारमा सामानहरू सस्तो मूल्यमा पाइने भएका कारण नेपाली उपभोक्ताहरूको प्रमुख रोजाइ ती बजार पर्ने गरेका छन् । यसले गर्दा नेपालीहरूको ठूलो अर्थ सहजै भारत निर्यात हुने गरेको छ । भारतीय बजारमा जाने उपभोक्ता मात्रै होइन्, नेपाल–भारत खुला सीमाका कारण सहजै पहुँच हुनु, नेपाली बजारमा महंगोमा पाइने सामान भारतीय बजारमा सस्तोमा पाइनेलगायतका कारण भारतीय बजारहरूमा किनमेलमा जाने गरेको निजी क्षेत्रका प्रतिनिधिहरू बताउँछन् ।
दसैँको किनमेलको तयारी गरिरहेकी कोहलपुर–११ की प्रेमकुमारी सिंहले केही दिनमा रूपैडिहामा परिवारसहित जाने योजना रहेको बताइन् । उनका अनुसार नेपाली बजारभन्दा रूपैडिहामा हरेक सामग्री सस्तो पाइन्छ । ‘हामी त हरेक वर्ष उतै जान्छौँ । यहाँको सामान साह्रै महंगो हुन्छ। त्यहाँको सामान सस्तो हुन्छ । थोरै पैसामा धेरै सामान किन्न सकिन्छ । त्यसैले हामी त उतै जान्छौँ ।’ कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई नेपाली उपभोक्ताको रोजाइ भारतीय बजार रहेको स्वीकार गर्छन् । उनका अनुसार उपभोक्ताहरू गुणस्तरभन्दा पनि सस्तो खोज्छन् ।
भारतीय बजारमा पाइनेभन्दा नेपाली बजारमा पाइने सामान तुलनात्मक रूपमा महंगो हुने गरेका कारण दूरीका हिसाबले टाढा भएपनि नेपाली उपभोक्ता उतै पुग्ने गरेको अध्यक्ष भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘खुला सीमा त भइहाल्यो । धेरै कारणले हाम्रा उपभोक्ता भारतीय बजार पुग्छन् । त्योमध्ये महंगी पनि अर्को कारण हो ।’ चाडपर्वको मुखैमा जेनजी आन्दोलनबाट नेपालको अर्थतन्त्रमा समेत ठूलो असर परेको छ ।देशमा महँगी अत्यधिक बढेको भन्दै महँगी नियन्त्रण गर्न नसक्नु नेपाली उपभोक्ता भारतीय बजारको भर पर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।
निजी क्षेत्रका प्रतिनिधि भन्छन्, ‘हामीले थेग्नसक्ने अवस्था छैन्’
चाडपर्वको बेलामा नेपाली उपभोक्तालाई भारतीय बजारबाट जान नपर्ने वातावरण बनाउन आफू अध्यक्ष भएदेखि नै पहल गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी बताउँछन् । उनका अनुसार उनी अध्यक्ष निर्वाचित भएको पहिलो बैठकमा यसको दीर्घकालीन समाधानको उपाय खोजी गर्ने विषयमा निर्णय गरिएको थियो । सोहीअनुसार अहिले पनि आफू राज्य र सरोकारवाला निकायसँग समन्वयमा रहेको अध्यक्ष धामी दाबी गर्छन् ।
उनले भारतीय बजारको सामान गुणस्तरहीन हुने गरेको बताए । भारतबाट सहजै त्यस्ता सामान भित्रिँदा नेपाली उपभोक्तासमेत त्यसको मारमा परेको उनको भनाइ थियो । ‘हाम्रा उपभोक्ता त्यता धेरै जाने गरेका छन् । त्यहाँको सामान गुणस्तरयुक्त हुँदैन । अर्गानिकसमेत हुँदैन । त्यसैले हाम्रा उपभोक्ताहरू आफैँ सचेत हुन आवश्यक रहेको छ ।’ अध्यक्ष धामीले मिसन टुडेसँग भने । नेपाली बजारमै राम्रो, गुणस्तरयुक्त सामान पाइने भन्दै नेपाली उपभोक्ताहरूलाई नेपाली बजारमै किनमेल गर्न र सामान खरिद गर्न उनले आग्रह गरे ।
निजी क्षेत्रले चाहेर केही पनि नहुने र उपभोक्ता रोक्न सकिने अवस्था नरहेको भन्दै वर्तमान सरकारप्रति भने आशावादी देखिए । ‘संघले समन्वय र बहस गरिरहेको छ । नयाँ सरकार आएको छ । निजी क्षेत्रले देशभरका समस्या सुनाएको छ । विगतमा राजनीतिक कारणले प्रणालीअनुसार काम नहुँदा हामीले पनि समस्या भोगिरहेका थियौँ । यो सरकारले केही सकारात्मक काम गर्छ कि ?’ अध्यक्ष धामीले मिसन टुडे दैनिकसँग कुराकानी गर्दै भने । उनले हरेक वर्ष चाडपर्वमा खोलिने सुपथ मूल्य पसलहरूलाई एउटै छानामुनि सबै सामान पाइनेगरी सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले नेपाली उपभोक्ताहरूलाई भारतीय बजारसम्म जान रोक्नै नसकिने अवस्था रहेको बताए । भारतीय बजारमा सस्तो मूल्यमा सामान पाइने भएका कारण उनीहरूको प्रमुख रोजाइ नै त्यही हुने गरेको उनले बताए । यसमा राज्यले गम्भीररूपमा सोच्नुपर्ने अवस्था रहेको अध्यक्ष आचार्यको भनाइ रहेको छ । यस्तै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवर खुला सीमा प्रमुख कारण रहेको बताउँछन् ।
उनले परिचयपत्रका आधारमा नेपालीहरू भारत प्रवेश गर्न र भारतीयहरू नेपाल आउन सक्ने अवस्था रहेका कारण नेपालीहरू भारतीय बजारमा जाने बताए । ‘त्यहाँ सस्तो र सुलभ मूल्यमा सामाग्री किन्न पाइन्छ । मूल्य त सस्तो भइहाल्यो । भारतीय बजारमा विशेषगरी निम्नवर्गीय उपभोक्ताहरू पुगेको देखिन्छ । उनीहरूलाई नजाउ भन्न पनि नमिल्ने । यसमा राज्यले नै ठोस नीति ल्याउनुपर्ने देखिन्छ ।’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्