शुल्क नतिरेको भन्दै विद्यार्थीलाई यातना दिँदै ‘गोल्डेन एबीसी’



जुनेदकी छोरीमात्रै होइन त्यसदिन अरु बालबालिकाहरूलाई पनि उक्त विद्यालयले शुल्क नतिरेको भन्दै घण्टौँ घाममा उभ्याएर यातना दिएको अभिभावकहरूले बताएका छन् । ‘साँझ छोरी आएर घरमा रुँदै फी नतिरेको भनेर घाममा उभ्याए भन्दा हामीलाई कति पीडा भयो । अहिलेसम्म फी ढिलो भएको थिएन । यसपटक एक दुई महिना ढिलो हुँदा बच्चाहरूलाई सजाय दिन मिल्छ ? हामीले फी तिर्छाैँ तर समय लाग्ला भनेकै थियौँ,’ ती अभिभावकले मिसन टुडेसँग भने ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित गोल्डेन एबीसी एकेडेमी बाँके हाइस्कुलमा कक्षा तीनमा अध्ययनरत नेपालगन्ज निवासी जुनेद खानकी छोरीलाई थाइराइडको समस्या छ भने खुट्टाले विकलाङ्ग पनि छन् । उनको विद्यालयमा तिर्नुपर्ने केही महिनाको शुल्क पनि बाँकी रहेको भन्दै आइतबार विद्यालयले दुई घण्टाभन्दा बढी घाममा राखेर यातना दियो । बुवा जुनेद भन्छन्, ‘मैले आफ्नो छोरीको अवस्थाबारे स्कुलमा जानकारी गराएको छु । शुल्कको बारेमा पनि म चाँडै भुक्तानी गर्छु भनेको छु । तरपनि मेरो सानी बिरामी छोरीलाई पहिलो पिरियडदेखि इन्टरवलसम्म झोला बोकाएर दुई तीन घण्टा घाममा यातना दिइएको छ ।’

जुनेदकी छोरीमात्रै होइन त्यसदिन अरु बालबालिकाहरूलाई पनि उक्त विद्यालयले शुल्क नतिरेको भन्दै घण्टौँ घाममा उभ्याएर यातना दिएको अभिभावकहरूले बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक अभिभावकले पनि आफ्नो छोरीलाई पनि घाममा उभ्याएर यातना दिएको बताए । उनले भने, ‘साँझ छोरी आएर घरमा रुँदै फी नतिरेको भनेर घाममा उभ्याए भन्दा हामीलाई कति पीडा भयो । अहिलेसम्म फी ढिलो भएको थिएन । यसपटक एक दुई महिना ढिलो हुँदा बच्चाहरूलाई सजाय दिन मिल्छ ? हामीले फी तिर्छाैँ तर समय लाग्ला भनेकै थियौँ,’ ती अभिभावकले मिसन टुडेसँग भने ।

अर्का एक अभिभावकले पनि फेसबुकमा आफ्नो छोरीलाई पनि विद्यालयले घाममा उभ्याएर सजाय दिएको भन्दै लेखेका छन्, ‘विषम परिस्थिति र चाडपर्वको बेलामा अभिभावकले गुनासो बक्यौताको २५ प्रतिशत, ३० प्रतिशत फी बुझाउँदा पनि स्कुलले नमान्ने र बच्चाहरूलाई स्कुलको १०–१५ केजीको झोलासहित फी जम्मा नगरेकोले ३० मिनेट घाममा उभ्याएर राखे ।’ उनले विद्यालयलाई शुल्क तिर्न सक्दैनन् भने अभिभावकलाई बोलाएर बरु पढाउन सक्नुहुन्न भने अर्काे स्कुलमा लैजान भन्न सुझाव दिँदै भनेका छन्, ‘तर यसरी बच्चाहरूको मानसिक सन्तुलन फीको नाममा नबिर्गानुस् ।’

विद्यालयले अभिभावकले शुल्क नतिरेको भन्दै बालबालिकाहरूलाई यातना दिने गरेको यो पहिलोपटक नभएको अभिभावकहरू बताउँछन् । ‘अभिभावकहरूले यस विषयमा कुरा खोल्न डराउने र आफ्नै बच्चाको पढाइमा अप्ठ्यारो पर्ला भनेर नबोल्ने रहेछन् । मेरो घरकै चारपाँच जना बच्चाहरू त्यहीँ पढिरहँदा पनि मेरै छोरीलाई त्यस्तो गरेपछि मैले सहन सकिनँ र भेटेरै अबदेखि यसो नभन्न अनुरोध गरेको छु,’ एक अभिभावकले भने । विद्यालय प्रशासनले पनि शुल्क नतिरेको नाममा बालबालिकालाई यातना दिएको स्वीकारेको छ ।

तर, विद्यालयको तर्क त्यो शुल्क उठाउनका लागि दबाब दिने उद्देश्यले विद्यार्थीहरूलाई सम्झाउन खोजिएको मात्रै हो भन्ने छ । विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विकास बहादुर सिंहले मिसन टुडेसँग भने, ‘अभिभावकले लाखौँ शुल्क नबुझाइदिँदा हामी पनि आर्थिक चापमा पर्छौँ। अभिभावकलाई अनेक माध्यमबाट भन्दा पनि शुल्क नतिरेपछि घरमा गएर शुल्क तिर्न भन भनेर विद्यार्थीहरूलाई सम्झाउन मात्रै खोजिएको हो। घाममा उभ्याएर यातना नै दिएको होइन ।’

सिंहले बालबालिकाहरूलाई घाममा पनि नउभ्याइएको दाबी गरे । धेरै समय पनि नउभ्याइएको तर्क गर्दै उनले भने, ‘उनीहरूलाई बाहिर प्रांगणमा रहेको चौतारामा बसाएर केहीबेर कक्षामा जान नदिइएको मात्रै हो ।’ तर अभिभावकहरू विद्यालयको भनाइ झुटो भएको बालबालिकाको मानसिकतामा विद्यालयको व्यवहारले नकारात्मक असर पारेको बताउँछन् । सिंहले विद्यार्थीहरूलाई शुल्कको नाममा यसरी यातना दिनुलाई समान्यीकरण गर्न अनेक तर्कहरू गरे । उनले अभिभावकसँग पनि शुुुुुुुुुुुुुुुुुुुल्क नउठ्दा विद्यालय चलाउन मुस्किल पर्ने गरेको र तलब भुक्तानी गर्न समस्या हुने गरेको भनेर त्यसरी घाममा उभ्याउनुलाई सामान्यरूपमा लिन भनेको पाइएको छ ।

तर, नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, र दण्ड संहिताले विद्यालयमा बालबालिकामाथि यातना वा सजाय दिन पूर्णतः निषेध गरेका र अपराध घोषणा गरेका छन् । विद्यालयले समस्या समाधानका लागि केवल संवाद, परामर्श र सहयोगी उपाय मात्र प्रयोग गर्न पाउँछ । तर, शुल्कजस्तो सिधँै अभिभावकसँग जोडिने विषयमा पनि साना र अबोध बालबालिकालाई पनि घाममा उभ्याएर विद्यालय कानुनले निषेध गरेको अपराधको कोटीमा पर्ने काम गरेको देखिएको छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले कुनै पनि बालबालिकालाई शारीरिक वा मानसिक सजाय दिन वा अनादरपूर्ण व्यवहारसमेत गर्न निषेध गरेको छ । ऐनले बालबालिकामाथि यातना, कठोर वा अपमानजनक व्यवहार गरे कारबाही हुने, दोषी प्रमाणित व्यक्तिलाई ५० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद सजाय दिन सकिने र बालबालिकासँग प्रत्यक्ष सम्पर्क हुने काम गर्न रोक लगाउन सकिने उक्त ऐनमा उल्लेख छ।

बालअधिकारसम्बन्धी पैरवी गरिरहेका अधिकारकर्मी एवं अधिवक्ता बसन्त गौतम कुनैपनि बाहनामा बालबालिकाकालाई शारीरिक वा मानसिक आघात पर्ने काम गर्न नपाइने बताउँछन् । उनले भने, ‘विद्यालयहरूले पनि बालबालिकालाई कुनैपनि बाहनामा यातना दिन मिल्दैन भने शुल्कजस्तो अभिभावकसँग जोडिएको विषयमा बालबालिकालाई दिइने यस्तो खालको यातनालाई कुनै तर्कले पनि जायज ठह¥याउन सक्दैन ।’

गोल्डेन एबीसी एकेडेमी बाँके हाइस्कुल नेपालगन्ज उपमहानगरपालिकाले ‘क’ वर्गमा वर्गीकृत गरेको विद्यालय हो । उक्त विद्यालयमा शुल्कका नाममा यातना दिइएको विषयमा आफूहरूकहाँ औपचारिक अनौपचारिकरूपमा कुनै जानकारी नआएको उपमहानगरका शिक्षा महाशाखाका शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीले बताए । यद्यपि यस विषयमा आफूले विद्यालयसँग थप बुझेर आवश्यक कदम चाल्ने शाहीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार