आगजनी भएका सरकारी कार्यालयलाई व्यापार संघको सहयोग



बुटवल ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएका दुई सरकारी कार्यालयलाई रुपन्देही व्यापार संघले सहयोग गरेको छ । आगजनी गरिएका ती कार्यालयलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने विद्युतीय सामानहरू संघले निःशुल्क प्रदान गरेको हो । बुटवलस्थित इलाका प्रशासन कार्यालय र सरकारी वकिलको कार्यालयलाई करिब २ लाख मूल्य बराबरका २ थान कम्पयुटर, प्रिन्टर तथा स्क्यानरहरू प्रदान गरिएको कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिए ।

रुपन्देही व्यापार संघको कार्यालयमा कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल र सरकारी वकिल कार्यालय बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीलाई कम्प्युटरसहितका विद्युतीय सामाग्री हस्तान्तरण गरेका हुन् । इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले आगजनीबाट ध्वस्त कार्यालयबाट सेवा प्रदान गर्न गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै नागरिकलाई सेवा दिनका लागि यी उपकरणहरूले सहयोग पु¥याउने बताए ।

कार्यालयमा गरिएको आगजनी र त्यसबाट भएको क्षतिको अवस्थाले करिब ३ महिनासम्म पनि सहजै सेवा दिन सक्ने अवस्था नभएको जानकारी गराउँदै उनले सबैको सहयोगबाट नागरिकलाई छिटो छरितो सेवा सुचारु गरिने बताए । अहिलेको असहज अवस्थामा पनि व्यावसायिक संघसंस्थाहरूले आफ्ना सदस्य व्यवसायीहरूलाई इमानदार भएर सेवा प्रदान गर्न उनले आग्रह गरेका छन् ।

रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष श्रीकृष्ण पोखरेलले मुलुकले अकल्पनीय क्षति व्यहोरोको अवस्थामा सबै मिलेर एक अर्कासँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले जेनजीका नाममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको परिपूर्ति हुन धेरै समय लाग्ने भएपनि मुलुक बनाउने विषयमा सबैले आआफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए ।

सरकारी वकिल कार्यालय बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीले आन्दोलनका नाममा भएको अवाञ्छित कार्यले राष्ट्रलाई ठूलो नोक्सानी भएको बताउँदै यस्तो अवस्थामा सहयोग गरेर रुपन्देही व्यापार संघले सकरात्मक काम गरेको भन्दै प्रशंसा गरे । जेनजीको आन्दोलनका क्रममा रुपन्देहीमा करिब दर्जन बढी सरकारी कार्यालयहरूमा तोडफाड तथा आगजनी भएका थिए । आगजनीका कारण ध्वस्त भएका सरकारी कार्यालयहरूबाट सेवा प्रवाह गर्न थालिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार