जेनजी आन्दोलनका घाइते सन्तोषको अवस्था अझै चिन्ताजनक



सुर्खेत ।

गत भदौ २४ गते सुर्खेतमा चर्किएको जेनजी आन्दोलनका घाइते सन्तोष बोहोराको अवस्था अझै चिन्ताजनक रहेको छ । भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले काठमाडौँसहित देशभर गरेको प्रदर्शनमा प्रहरीको दमनबाट २१ जना युवा मारिएपछि त्यसको भोलिपल्ट सुर्खेतसहित देशभर आन्दोलनले उग्ररुप लियो । उक्त दिन कर्णाली प्रदेशमा पनि जेनजी प्रदर्शनकारीको उग्ररूप देखियो । सोहीकारण प्रहरीले पनि आन्दोलन नियन्त्रणमा लिन भन्दै गोली नै चलायो । उक्त गोली लागेर प्रदेशभर १३ जना युवा घाइते भए ।

कर्णाली प्रदेश प्रहरीका अनुसार घाइते १३ जनामध्ये अधिकांश अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । तर सुर्खेतको वीरेन्द्रनर नगरपालिका–२ खौरी गाउँका २७ वर्षीय घाइते युवा सन्तोष बोहोराको अवस्था भने अझै चिन्ताजनक छ । सन्तोष सुर्खेतको वीरेन्द्रनगरमा भएको आन्दोलनमा सहभागी हुँदा प्रहरीले हानेको गोली लागेर गम्भीर घाइते भएका थिए । डाक्टरहरूका अनुसार सन्तोषको टाउकोमा गम्भीर चोट छ भने दुईवटै आँखा ‘ड्यामेज’ भएका छन् ।

सन्तोषकी ४८ वर्षीया आमा यामकुमारी बोहोराले सन्तोषलाई भदौ २४ गते दिउँसो २ बजेतिर गोली लागेको बताइन् । ‘सन्तोषलाई गोली लाग्यो भन्ने खबर आयो । तर सुरुमै विश्वासै पनि लागेन । पछि बुहारीको मोबाइलमा निरन्तर फोन आउन थाले,’ उनले भनिन्, ‘प्रदेश अस्पतालमा आउनुहोस् तपाईँको मान्छेलाई गोली लागेको छ भन्दै फोन आउन थाले । छोरालाई फोन गर्दा फोन पनि लागेन । पछि श्रीमान्को मोबाइलमा छोरोको हात भाँचिएको छ भनेर खबर आयो ।’

यामकुमारीका अनुसार निरन्तर फोनपछि सन्तोषका साथीहरूले फोटो नै पठाउन थाले । हतारहतारमा परिवारका सदस्य अस्पताल पुगे ।साथीहरूले बताएअनुसार सन्तोषलाई वीरेन्द्रनगर नगरपालिका–८, धमला चोक आसपास हुँदा गोली लागेको उनले जानकारी दिइन् । घाइते सन्तोष मंगलगढीचोक नजिक मोटरसाइकल पार्किङ गरेर सुरुमा साथीसँग आन्दोलन गर्न नभई टाढाबाट हेर्न भनेर त्यहाँ पुगेका थिए ।

जेनजी आन्दोलनकारी राजनीतिक दलका पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गर्दै नेपाली काँग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काको घरतर्फ मोडियो । सन्तोष पनि साथीसँग आन्दोलनकारीको पछिपछि त्यतैतिर लागे ।आन्दोलनकारीहरूले नेता खड्काको घरसँगै रहेको उनका भाइ डाक्टर डम्बर खड्काको घरमा तोडफोड र आगजनी गरे । घटना रोक्न प्रहरीले अश्रुग्यास र हवाई फायर ग¥यो ।

भीड अनियन्त्रित भएपछि प्रहरीले गोली नै चलाउन थाल्यो । त्यही समयमा भीडभन्दा टाढा रहेका सन्तोषलाई गोली लागेको उनका साथीहरूको दाबी छ । सन्तोषकी आमा यामकुमारकिा अनुसार धमलाचोक नजिकैबाट सन्तोष आन्दोलन हेरिरहेका थिए । एक्कासि गोली कताबाट आयो थाहा नै भएन । ‘पछाडीबाट आन्दोलन हेरिरहेको छोरालाई गोली लाग्दा एक्कासि ढलेछ । टाउकोबाट रगतको भेल नै बगेछ,’ उनले थपिन्, ‘तत्काल घटनास्थलमा रहेका कालीकोटका एक जना बम थर भएका सन्तोषका साथीले अवस्था नाजुक देखेपछि नेपाली झण्डाले मुख छोपिदिएछन् । त्यहाँ नजिक आफन्त कोही रहेनछन् ।’

सान्तोष घाइते भइ ढलेपछि उठाएर अस्पताल लैजाने कोही नहुँदा पछि बजारबाट सन्तोषकी दिदी गएर तत्काल अटोमा कर्णाली प्रदेश अस्पताल कालागाउँ पु¥याएको उल्लेख छ । तर त्यहाँका डाक्टरले यहाँ उपचार सम्भव नहुने भन्दै बाहिर लैजान सुझाव दिएपछि घाइते सन्तोषलाई एम्बुलेन्समा नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो । हाल सन्तोषको उपचार जारी छ । तर अवस्था जटिल नै रहेको उपचारमा संलग्न डाक्टरहरू बताउँछन् ।

सन्तोषको घरमा बुबाआमा, श्रीमती र चार वर्षीया एक छोरी छन् भने सन्तोषलाई अस्पताल पु¥याउने दिदीको बिहे भइसकेको छ । उनी घरका एक्ला छोरा पनि हुन् । सन्तोषकी आमा यामकुमारीका अनुसार रोजगारीका लागि विदेश बसेर फर्किएका उनी युरोपियन मुलुक जाने तयारीमा थिए । पहिला विदेश बसेर आएका सन्तोष राम्रो कमाइ नभएको भन्दै फेरि रोमनिया वा क्रोसिया देश जाने तयारीमा थिए । तर भिसा आएको थिएन ।

सन्तोषकी श्रीमती २४ वर्षीया निर्मला खड्का श्रीमान् घाइते हुँदा घरको मुख्य खम्बा नै ढलेको भन्दै भावह्विल भएकी छन् । श्रीमान्को आइसीयुमा उपचार भइरहेको भन्दै उनले छिट्टै सञ्चो हुने कामना व्यक्त गरिन् । ‘श्रीमानको टाउकोमा र दुईवटै आँखामा गम्भीर चोट लागेको छ ।अस्पतालले आँखाको ज्योति गुमेको बताएको छ,’ उनले भनिन्, ‘अब सासु, ससुरा, छोरी र घाइते श्रीमान् पाल्ने जिम्मा मेरो काँधमा आएको छ । यस्तो अवस्थामा सन्तोषको उपचारका लागि सहयोगको पनि खाँचो छ ।’

सन्तोषको स्वास्थ्यमा सुधार हुँदै गएको कुरा अस्पतालले जानकारी दिँदा आशा पलाएको उनको भनाइ छ । उनले भनिन्, ‘हाल पाइपबाट नरिवल पानी खुवाइरहेका छौँ, अरू केही खान मिलेको छैन । अझै केही सयम उपचार गर्न लाग्ने देखिन्छ ।’ तर आन्दोलनमा घाइते श्रीमान् सन्तोषलाई भेट्न अहिलेसम्म कुनै पनि जेनजी युवा नआएको गुनासो गुनासो छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार