आजदेखि दसैँ, पहिलो दिन घटस्थापना



कोहलपुर (बाँके) ।

नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएको छ । आज बडादसैँको पहिलो दिन घटस्थापना मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादसैँ मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनासँगै नवरात्र आरम्भ भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटनाको शुभसाइत ९ः१३ बजे रहेको छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा गर्ने चलन रहेको छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिने समितिले जनाएको छ ।

बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । बडादसैँअन्तर्गत असोज ७ गते झण्डा फेर्ने साइत रहेको छ । यसको साइत बिहान ९ः४५ बजे रहेको छ । यस्तै असोज ११ गते श्री पचलीभैरव यात्रा गरिनेछ । १३ गते फूलपातीको शुभसाइत बिहान ७ः१७ बजे रहेको छ । सो दिन श्री तुलजाभवानीको यात्रा गरिन्छ ।

यसैगरी स्थिरासनको शुभ साइत बिहान ९ः२३ मा रहेको छ । असोज १४ गते महाष्टमी र कालरात्रि र १५ गते महानवमी रहेको छ । असोज १६ गते विजय दशमी र देवी विसर्जनको साइत ९ः२३ बजे रहेको छ । ११ः५३ मा शुभ साइत रहेको टीका (पूर्व मोहोडा) टीका लगाइमाग्ने मान्छे पूर्व फर्किने विधि उपयुक्त रहेको छ । यसरी असोज २० गते कोजाग्रत वर्त, पूर्णिमावर्तसँगै यस वर्षको बडादसैँ औपचारिक रूपमा सकिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार