डुडुवाले ग¥यो जेनजी सहिदका सम्झनामा श्रद्धाञ्जलीसभा



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिकाले ‘जेनजी’ आन्दोलनका ‘सहिद’को सम्झनामा बृहत् श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । गाउँपालिका कार्यालय बनकट्टी परिसरमा आयोजित श्रद्धाञ्जलीसभालाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, डुडुवा–२ का वडाध्यक्ष दुर्गाप्रसाद बर्मा, डुडुवा–३ का वडाध्यक्ष आमोद तिवारी र बाँकेका जेनजी प्रतिनिधि रितिक शाहीलगायतले सम्बोधन गरेका थिए ।

गाउँपालिका अध्यक्ष चौधरीले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका बाँकेका सुलभराज श्रेष्ठ र आयुस थापाको परिवारलाई गाउँपालिकाले एक लाख एक हजार रूपैयाँँका दरले सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । उनले ‘जेनजी’ले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरू जायज रहेको बताए । उनले आन्दोलनपश्चात समूहले गाउँपालिका कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समूहले तालाबन्दीसहित कर्मचारीमाथि कुटपिट तथा दुव्र्यवहार गरेकोमा आपत्ति पनि जनाएका छन् ।

उनले तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा जनताहरू सेवा पाउनबाट वञ्चित भएको भन्दै तालाबन्दी खोल्न आग्रह गरे । अध्यक्ष चौधरीले गाउँपालिकाको बारेमा भ्रम छर्नेगरी सामाजिक सञ्जालमा फोटो र भिडिओ राखेर केही व्यक्तिले बदनाम गर्ने प्रयास गरेको दाबी गरे । उनले स्थानीय केही नेताहरूको स्वार्थमा केही व्यक्तिहरू उचालेर उक्त काम गरेको आरोप पनि लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले नक्कली जेनजीले डुडुवा गाउँपालिकामाथि निराधार आरोप लगाउँदै ताला लगाएर काम रोकेको दाबी गरे । कार्यक्रममा वडाध्यक्षद्वय दुर्गाप्रसाद वर्मा र आमोद तिवारीले व्यक्तिगत रिसइबी साँध्ने उद्देश्यले चुनाव हारेका केही व्यक्तिको नेतृत्वमा एक समूहले गाउँपालिकामा तालाबन्दी गरेको बताए ।

कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधी रितिक शाहीले आफूहरूले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि आवाज उठाएर आन्दोलन गरेको स्मरण गराउँदै आन्दोलनको आडमा बाहिरका अराजक व्यक्तिहरू आएर सरकारी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट मच्चाएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार