कोहलपुर (बाँके) ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा शौचालय गएकी महिला बेहोस अवस्थामा फेला परेकी छन् । असोज ३ गते राति ९ गतेतिर घरबाट शौचालय गएकी महिला बेपत्ता भएकी थिइन् । शौचालय गएको लामो समयसम्म नफर्केपछि परिवारका सदस्यले गाउँले गुहारेका थिए ।गाउँलेहरूले खोजी गर्दै जाँदा ती महिलालाई घरदेखि दक्षिणतर्फ जंगलक्षेत्र रहेको ४ सय मिटर दूरीमा बारीमा फेला पारेका हुन् ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका अनुसार महिलालाई गाउँलेहरूले असोज ४ गते बिहान ३ बजे बेहोस अवस्थामा फेला पारेका थिए ।स्थानीयहरूले महिलामाथि सामूहिक बलात्कार भएको खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । तत्कालै घटनास्थलको मुचुल्का गरेर महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशमलाल पौडेलले बताए ।
उनका अनुसार ती महिलाले प्रहरीसँगको बयानको क्रममा आफूमाथि सामूहिक बलात्कार भएको बताएकी छन् । ‘उहाँले ९ बजेतिर शौचालय जान बाहिर निस्कदा मोटरसाइकलमा आएका तीन जनाले लिएका हुन् भन्नुभएको छ । उनीहरूले आफ्नो आँखामा पट्टी बाँधेको र मोटरसाइकलमा बाँधेर लिएका थिए । ममाथि सामूहिक बलात्कार भयो भन्नु भएको छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै प्रहरी निरीक्षक पौडेलले भने ।
महिलालाई उद्धार गरी आवश्यक उपचार गरेर घर फर्किसकेको पौडेलले बताए । पीडकको पहिचान भएको छ कि छैन ? भन्ने प्रश्नमा उनले महिलाले प्रहरीसँगको कुराकानीमा आफूलाई बाइकमा हालेर बलात्कार गर्ने व्यक्ति नचिनेको बताएको जानकारी दिए । आफू घरबाट निस्कनुभन्दा पहिला दीपक नाम बताउने व्यक्तिको नम्बरबाट आफ्नो मोबाइल नम्बरमा फोन आएको बताएपनि थप कुरा खुल्न बाँकी रहेको उनी बताउँछन् । ‘उहाँ अहिले सामान्य अवस्थामा हुनुहन्छ । घर गइसक्नु भएको छ । पीडित पक्षबाट जाहेरी आएको छ । किटानी जाहेरी आएको छ । प्रहरीले घटनाबारे थप सनुसन्धान अघि बढाएको छ,’ प्रहरी निरीक्षक पौडेलले भने ।
पीडित पक्षबाट घटनाको छानबिनको लागि जाहेरी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मिनराज खड्काका अनुसार एक महिला शौचालय जाने भनेर निस्केको र धेरैसम्म नफर्केपछि खोजी गरिएको थियो। बिहानपख ३ बजेतिर गाउँलेहरूले भेटाएका थिए । ‘हाम्रो वडामा नराम्रो घटना भएको छ । महिलामाथि सामूहिक बलात्कार भयो । उहाँलाई उद्धार गरेर उपचारपछि घर फर्किसक्नु भएको छ । अब भने यस्तो घटनाको विषयमा थप प्रभावकारीरूपमा छानबिन हुन आवश्यक छ । त्यसको लागि वडाको तर्फबाट हामीले प्रहरीसँग समन्वय गरिरहेका छौँ,’ उनले भने ।
वडाध्यक्ष खड्काले उक्त दिन घरमा उनकी सासु ससुरा र देवर रहेको बताए । श्रीमान् भने जागिरको सिलसिलामा घरबाहिर रहेको उनले जानकारी दिए । उनी घटनापछि घर फर्किँदै गरेको र श्रीमान् आएपछि थप कुराकानी हुने उनको भनाइ छ । पीडित परिवारलाई वडाको तर्फबाट अन्याय हुन नदिन र दोषीमाथि अविलम्ब कारबाहीका लागि वडा सरकारको तर्फबाट सम्पूर्ण पक्षसँग छलफल र समन्वय गरिरहेको उनले बताए । घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्