काठमाडौँ ।
सरकारले तीन करोड रूपैयाँँभन्दा कम लागतका सबै टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले तीन करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नगरिएका, एलएमबीआईएसमा मात्र प्रविष्ट गरिएका वा राजनीतिक दबाबमा परेर आयोजना बैंकमा राखिएका योजनाहरू पनि रोक्का गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।
यो कदमबाट चालू खर्चसहित करिब १ खर्ब २० अर्ब रूपैयाँँ जोगिन सक्ने सरकारको अनुमान छ । रोक्का गरिएको रकमबाट पहिल्यै सम्पन्न कामको भुक्तानी गर्न सकिने र बाँकी रकम राष्ट्रिय गौरवका आयोजनासहित ठूला पूर्वाधार योजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रयोग गरिने मन्त्री खनालले बताए । त्यस्तै, सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णय समेत गरेको छ ।
उक्त कोषमा नेपालभित्र र बाहिरबाट योगदान गर्न सकिनेछ भने बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरूले आफ्नो सीएसआर रकम त्यहाँ राख्न पाउने व्यवस्था हुनेछ । त्यस्तो रकम कर कट्टी योग्य हुने निर्णय पनि बैठकले गरेको छ । चालू आर्थिक वर्षको बजेट आउनुअघि राष्ट्रिय योजना आयोगले तीन करोड रूपैयाँभन्दा कम लागतका साना योजनामा संघीय सरकारले लगानी नगर्ने प्रतिबद्धता जनाएको थियो । तर व्यवहारमा त्यस्तै प्रकृतिका सयौँ साना योजना बजेटमा समावेश गरिएको पाइन्छ ।
टुक्रे आयोजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिन्छन् । यस्ता उपभोक्ता समितिमा राजनीतिक दलका स्थानीय नेताहरूकै पकड रहन्छ । त्यही भएर यस्ता आयोजना स्थानीय नेताको प्रभावमा बजेट दुरूपयोग गर्ने माध्यम बनेका थिए । गाउँ–गाउँमा कार्यान्वयन भइरहेका साना आयोजनामा प्रायः पार्टी कार्यकर्ताहरूले नेतृत्व लिने गर्थे । यस्तै बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको अर्थमन्त्री खनालले जानकारी दिए । गौरीबहादुर कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् । उक्त आयोगमा दुई सदस्य रहनेछन् जसमा एकजना पूर्वएआइजी विज्ञानराज शर्मा छन् भने अर्का एक सदस्य कानुनविद् विश्वेश्वरप्रसाद भण्डरी रहेका छन् । यस आयोगले तीन महिना समयअवधि रहेको छ ।
यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग बनाउने सैद्धान्तिक सहमति मात्रै गरेको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा धेरै युवाहरूले ज्यान गुमाएका छन् । अहिलेसम्म कम्तीमा ७४ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् ।









प्रतिक्रिया दिनुहोस्