२० जना बालबालिकालाई दसैँको कोसेली प्रदान



राप्ती सोनारी (बाँके) ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ चाचरफर्कामा रहेको बागेश्वरी असहाय बाल संरक्षण केन्द्रमा रहेका २० जना बालबालिकाहरूका लागि दसैँको कोसेली प्रदान गरिएको छ । खबरगन्ज मिडियाको समन्वयमा खजुरा गाउँपालिका वडा नम्बर ४ ‘डि’गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लीलबहादुर थापाले बालबालिकाहरूका लागि दसैँमा लगाउने नयाँ कपडा र केही महिना पुग्ने गरी खाद्यान्न लगायतका सामग्री प्रदान गरेका हुन् ।

समाजसेवी थापाको प्रतिनिधित्व गर्नेगरी सञ्चारकर्मी खबरगन्जका सञ्चालक खगेन्द्र दाहालले ती सामग्री केन्द्रका अध्यक्ष तारा ओलीलाई शनिबार हस्तान्तरण गरेका हुन् । केन्द्रका अध्यक्ष ओलीले दसैँको मुखमा बालबालिकाहरूका लागि खुसीको उपहार प्राप्त भएको भन्दै सहयोगी दातालाई धन्यवाद प्रदान गरिन् ।

दसैँ नजिकिँदै गर्दा बालबालिकालाई नयाँ लुगा खरिद गर्न समस्या भएपछि अध्यक्ष ओलीले सञ्चारकर्मी दाहाललाई केही सहयोगका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।  दाहालले समाजसेवी थापालाई उक्त कुरा राखेपश्चात् बाल संरक्षण केन्द्रमा नयाँ लुगा र खाद्यान्न लगायतका सामग्री आफ्नो तर्फबाट लगिदिन थापाले आग्रह थिए । दसैँको मुखमा खाद्यान्न र नयाँ कपडा आएपछि बालबालिकाहरू खुसी देखिएका थिए ।

समाजसेवी थापाले अमेरिकामा बसेर नेपालका विभिन्न जिल्लाहरूसँगै बाँके जिल्लाको खजुरामा विशेष सहयोग प्रदान गर्दै आइरहेका थिए ।
राप्ती सोनारीमा पहिलोपटक यसरी सहयोग गर्न पाउँदा आफू हर्षित भएको र आफूले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको सञ्चारकर्मी दाहालले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार