नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का विकास साहुले अब एक दिनभित्र अर्डर आएका सबै मूर्तिहरू तयार गरिसक्नुपर्नेछ। उनले यसपटक करिब एक दर्जन सेट मूर्तिहरूको अर्डर पाएका थिए । शनिबार उनी मूर्तिहरूको सजावटको काम सुरु गरिरहेका थिए । ‘आइतबारसम्म सबै मूर्तिहरू तयार गरिसक्नुपर्छ । पर्सी त मूर्ति लगेर स्थापना गर्नुपर्छ । अहिले कामको धेरै चाप छ,’ साहुले भने ।
१९ वर्षका कलाकार साहुले करिब नौ वर्ष अर्काे एकजना कलाकारसँग मूर्ति बनाउने काम गरे । यसवर्ष पहिलोपटक उनले आफैँले मूर्ति बनाउने निर्णय लिए । पहिलो वर्ष नै आफूले पर्याप्त मूर्तिको अर्डर पाएको भन्दै उनी सन्तुष्ट देखिए । नेपालगन्ज वडा नम्बर ८ का सन्दीप वंशकार यस वर्ष महेन्द्र बहुमुखी क्याम्पसको सामुन्ने मूर्ति तयार गरिरहेका छन् ।

पहिले रानीतलाउनिर मूर्ति तयार गर्ने उनी यसवर्ष सबैको आँखा पुग्ने ठाउँ खोज्दै यहाँ पुगेका हुन् । उनले पनि यसवर्ष १३ वटा सेटको अर्डर पाएका छन् । ‘काम ठिकै पाइरहेको हो । तर नाकामा जानआउन अप्ठ्यारो भएर सामान ल्याउन पाइएन,’ वंशकारले भने । नेपालगन्ज वडा नम्बर ८ घसियारा टोलका छोटु केवट पनि मूर्तिहरूको फिनिसिङमा जुटेका थिए । उनले आठवटा सेट मूर्तिको अर्डर पाएका छन् । ‘अझै मूर्तिको फिनिसिङ सकिएको छैन । आज त जसरी पनि सक्नुपर्नेछ,’ छोटुले भने ।
दसैँ नसिकिएसँगै नेपालगन्जमा दुर्गा मूर्तिहरूको उत्सव लाग्छ । घटस्थापना दिन विभिन्न चोट तथा टोलहरूमा स्थापना गरेर दशमीसम्म त्यस्ता दुर्गा मूर्तिहरूको पूजा गरिन्छ । दुर्गा मूर्तिहरूको सेटमा दुर्गाको मूर्ति मात्रै नभएर दुर्गाको बाहन सिंहसहित असुर बधसँग सम्बन्धित मूर्तिहरू पनि राखिन्छन् । यस्ता मूर्तिहरूको मूल्य गुणस्तर हेरेर १५ हजारदेखि ४० हजारसम्म पर्ने गरेको मूर्तिकारहरू बताउँछन् ।
मूर्ति बनाउन पराल, सुतरी, बाँस र माटो स्थानीय कच्चा पदार्थका रूपमा प्रयोग हुन्छन् भने सजावटका साधन र रङहरू प्रायले भारतीय बजारबाट ल्याउने गरेको बताए । नेपालगन्जका कलाकारहरूले बर्दियासम्मको अर्डर लिएर मूर्ति बनाउने गरेका छन् । यो काम सिजनल भएकाले अन्य समयमा कलाकारहरूले अन्य काम गर्दै आएका छन् । यस्ता मूर्तिकारहरू अहिले बाँकेका विभिन्न ठाउँमा छरिएर रहेका छन् ।

कुनै समय भारतीय मूर्तिकारको भर पर्नुपर्ने गरेकोमा अहिले उनीहरूबाट सिकेर नेपालकै कलकारहरूले मूर्ति बनाउन सकिरहेका छन् ।दसैँको घटस्थापनादेखि पूजा गर्ने गरेको माता दूर्गाको मूर्ति दसैँको एकादशीको दिन विसर्जन गर्ने गरिन्छ । बाँकेका प्रत्येक चोकमा दुर्गाको मूर्ति स्थापना गरी पूजाआजा गर्ने चलन पहिलेदेखि नै चलिआएको छ ।
घटस्थापनादेखि नवनिर्मित दुर्गाका मूर्तिहरू स्थापना गर्ने क्रममा ब्यान्डबाजासहित पूजाअर्चना गरी दुर्गा मूर्तिहरू स्थापना गरिन्छ । यसरी घटस्थापनामा राखिएका मूर्तिहरू दसैँको टीकाको भोलिपल्ट राप्ती नदी तथा बाँके बर्दियाको सिमाना मानखोलामा विर्सजन गर्ने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्