बुटवल ।
मानव अधिकार रक्षाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल र पत्रकारहरूबीच छलफल भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण मानव अधिकार हनन् भएकाले अब कसरी मानव अधिकारको रक्षा गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो । जेनजी आन्दोलनमा घुसपैठ हुँदा ठूलो जनधनको क्षति हुनुका साथै मानव अधिकार र पे्रस स्वतन्त्रता हनन् भएको उक्त छलफलमा ठहर गरिएको छ ।
जेनजीको आन्दोलनले उठाएका मागहरू ठिक भएपनि सरकारले समयमै सम्बोधन गर्न नसक्दा र सुरक्षा दिन नसक्दा देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि र पत्रकारहरूले बताएका छन् । मानव अधिकारका हनन्का क्रूर घटना र पे्रस स्वतन्त्रता हनन्का घटनाहरू घट्न नदिन राज्य जिम्मेवार हुनुपर्ने ठहर गर्दै जेनजीको आन्दोलनमा सुरक्षा निकायका प्रमुखहरू मुकदर्शक हुँदा ठूलो नरसंहार भएको विषयमा छलफलमा सहभागी आयोगका प्रतिनिधि र पत्रकारहरूबीच समान धारणा रहेको छ ।
लोकतन्त्रमा आन्दोलन, जुुलुस र प्रदर्शन गर्न पाउने अधिकार भएपनि मानव अधिकार हनन् र पे्रस स्वतन्त्र हनन्का घटना घटाउने छुट कसैलाई नभएको छलफलका सहभागीहरूले बताए ।जेनजीको आन्दोलनमा मानव अधिकार हनन् हुनुका साथै मिडिया हाउस र पत्रकारहरूलाई निशाना बनाइएकाले सहजरूपमा समाचार लेख्ने वातावरण नभएको बताउँदै आमनागरिकको मानव अधिकारको रक्षा र पे्रस स्वतन्त्रताका लागि निर्धक्क भएर काम गर्न पत्रकारहरूले राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयलाई सुझाव दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवल कार्यालयका प्रमुख सन्तोष आचार्यले मानव अधिकारको रक्षागर्नु सबैको साझा दायित्व भएको बताउँदै आयोगको कार्यालय मानव अधिकारको पक्षमा जस्तोसुकै अवस्थामा पनि अगाडी बढेर काम गर्ने बताए । जेनजी आन्दोलनमा भएको मानव अधिकारका घटनाको छानबिनका लागि आयोगका आयुक्तको नेतृत्वमा छानबिन समिति बनाएर छानबिको काम सुरु भएको र अबको एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गरिने आचार्यले जानकारी दिए ।
पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेयले आन्दोलनमा मानव अधिकार हनन् भएको र पत्रकारहरूलाई तार्गेट् गराइँदा डरत्रासमा पत्रकारहरूले समाचार सम्पे्रषण गर्नुपरेको बताए । जेनजीको नाममा आन्दोलनमा भएको घुसपैठले पे्रसमाथि आक्रमण गरिएको बताउँदै न्यायालयभन्दा माथि उठेर मानव अधिकार र पे्रस स्वतन्त्रताको पक्षमा काम गर्न आयोगलाई सुझाव दिए ।
महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डाक्टर बालकृष्ण चापागाईले समस्या पर्दा सधैँ मिडिया चाहिने र पत्रकारहरूलाई समस्या पर्दा सुरक्षा दिन नसक्ने राज्यको भरपर्न नहुने अवस्था सिर्जना भएको बताए । उनले मानव अधिकार, शान्ति सुरक्षा र पे्रस स्वतन्त्रताबिनाको मुलुकको कल्पना पनि गर्न नसकिने भएकाले यो विषयमा सबै पक्षलाई सचेत हुन आग्रह गर्दै भने, ‘देशलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्र चलखेल गर्न सक्ने खालको अखडा बनाउने षडयन्त्र भैरहेको छ ।’
प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले जेनजीको आन्दोनलाई सरकारले बेवास्ता गरेका कारण देशमा विषम परिस्थिति उत्पन्न भएको बताउँदै यसको नैतिक जिम्मेवार ओली सरकार रहेको बताए । आन्दोलनका क्रममा सरकारी कार्यालय, व्यक्तिका घर, प्रतिष्ठान र दलका कार्यालयहरू तोडफोड गरी आगजनी गर्नेहरूको पहिचान गरेर तत्काल कारबाहीको प्रकृया अगाडी बढाउन राज्यलाई आग्रह गरे ।
मानव अधिकारको रक्षा र पे्रस स्वतन्त्रताको ग्यारन्टी गर्ने दायित्व राज्यको भएको उनले बताए । कार्यक्रममा पत्रकार विनोद परियार, टोपराज शर्मा, अश्मिना पाण्डे, नरेश केसी, माया केसी, डिबी सुस्लिङ लगायतले मानव अधिकारको रक्षा र पे्रस स्वतन्त्रता पक्षमा निर्भिकरूपमा काम गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सुझाव दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्