लाइफ ओकेको पानीमा फोहोरको लेदो



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको सगरमाथा पानी उद्योगले उत्पादन गरेको लाइफ ओके ब्राण्डको पिउने पानीका बोत्तलहरूमा फोहोरको लेदो फेला परेको छ । उद्योगले उत्पादन गरेर लाइफ ओके ब्राण्डमा बजारमा बिक्री गरेका पानीको बोत्तलहरूमा उपभोक्ताहरूले लेदो फेला परेका हुन् ।
शुक्रबार कोहलपुर नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा र नगर प्रहरीले उपभोक्ताको गूनासोको आधारमा लाइफ ओके ब्राण्डका पाँच कार्टुन लेदोसहितका पानीका बोत्तल नियन्त्रणमा लिएको छ ।

उपभोक्ताले लाइफ ओके पानीका बोत्तलमा फोहोर लेदो फेला परेको जानकारी गराएपछि आफूहरूले लेदो भेटिएका पानीका बोत्तलहरू नियन्त्रणमा लिएको उपभोक्ता हित संरक्षण शाखाका प्रशासकीय अधिकृत अग्नीप्रसाद आचार्यले जानकारी दिए । केहीदिन कार्यालय बिदा रहेकोले कार्यालय खुल्ने वित्तिकै नियन्त्रणमा लिइएका पानीका बोत्तलहरूलाई परीक्षणका लागि गुण नियन्त्रण कार्यालय नेपालगन्ज पठाइने उनले मिसन टुडेसँग बताए ।

कोहलपुरको दश विघाका दुई पसलहरूबाट लेदोसहितका पानीका बोत्तलहरू फेला परेको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । ‘उपभोक्ताहरूले पानीमा लेदो भेटिएको नगर प्रहरी र उपभोक्ता संरक्षण हित शाखालाई गुनासो गरेका थिए’ उनले मिसन टुडेसँग भने, ‘हामीले त्यहाँ पुगेर लेदो फेला परेका लाइफ ओके ब्राण्डका पानीका कार्टुन ल्याएर आएका छौँ । त्यसलाई ल्याब परीक्षणको लागि गुण नियन्त्रण कार्यालय नेपालगन्ज पठाउँछौँ । त्यहाँबाट आएको रिपोर्टका आधारमा कारबाही हुन्छ ।’

यता लाइफ ओके पानी उत्पादन गर्ने सगरमाथा पानी उद्योगका सञ्चालक कमलराज शर्माले भने बजारमा गएको पानीका बोत्तलमा प्राविधिक त्रुटिका कारण केही फेला परेको दाबी गरे । बजारमा बिक्री भएको केही पानीको बोत्तलमा लेदो फेला परेको खबर पाएपछि सुधार गरिएको उनले दाबी गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार