चोरी हुने चेतावनीसहितका पर्चा टाँसेर आतंक सृजना



नेपालगन्ज ।

‘होसियार होजाओ अब इस मोहल्ले कि बारी है । २० लोग आएँगे चोरी कर्ने । जागो जितना जाग्ना हो । चोरी करने आएंगे बचाओ सब अपना मोहल्ला । चोरोँ खौफ दिआएँगे तुम सबको । जागो हच्छे से, चोरी होगी । अब तुम्हारे मोहल्ले कि बारी है ।’ कुनै हिन्दी एक्सन फिल्मको डाइलगजस्तो यो चेतावनी नेपालगन्ज वडा नम्बर १० बालाजी टोलको एक गल्लीमा रहेको पर्खालमा टाँसिएको अवस्थामा फेला परेको हो ।

पछिल्लो केही हप्तायता चोरी हुने यसरी लिखित चेतावनी टाँस भइरहेका छन् । यसले नेपालगन्जबासीहरू आतंकित अवस्थामा छन् । वडा नम्बर १० की स्थानीयबासी कृष्णा पाठकले यस्तो सूचना टाँस गरिएको फोटो फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘यसरी नै ठाउँ–ठाउँमा पर्चा टाँसेर भएको आतंक सृजना गरिरहेका छन् । कृपया पुलिस प्रशासनको ध्यान यता पनि जाओस् । भयले मान्छे रातभरी सुतिरहेका छैनन् । यस्तो अवस्थामा राति–राति अबेरसम्म बत्ती काट्नुले झन् शंकास्पद एवं डर त्रासको परिस्थिति सृजना गरेको छ ।’

यसैगरी नेपालगन्ज वडा नम्बर ११ को इदगाह रोडमा पर्चा टाँसेर पनि चोरी किन भएन भनेर चिन्ता नलिन भन्दै पर्चा टाँस गरिएको छ । उक्त पर्चामा पनि चोरी भएरै छोड्ने र आफूहरूको ठूलो समूह रहेको चेतावनी दिइएको छ । चोरको नाममा यसरी पूर्व चेतावनीसहितको पर्चा टाँस हुनु तर प्रहरीले चासो नदिनु शंकास्पद देखिएको भन्दै स्थानीयहरूले प्रहरीलाई गुहारिरहेका छन् । स्थानीय प्रवेज अन्सारी भन्छन्, ‘प्रहरी परिचालन किन भईरहेको छैन ? कुनै ठूलो घटना घटेपछि मात्र परिचालन हुन्छन् के ?’

स्थानीय मेराज अहमद हिमालय भन्छन्, ‘प्रशासनिक निकायले नै असुरक्षित महसूस गरेका कारण चोरहरूको धाकधम्की आतंकले बिकराल रूपधारण गरिसकेको छ । हामी सबै भयभीत छौँ । गृहमन्त्रीज्यू हाम्रो सुरक्षा कसले गर्ने हो ?’ कतिपय यस्तो चेतावनीलाई चोरको नभै कसैले मजाक गरिरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । स्थानीय सद्धाम अन्सारी लेख्छन्, ‘नेपालगन्जको मान्छेलाई के संकेत दिने हो ? यो चोरहरूले पोस्टर टाँसीटाँसी चोरी गर्न आउँछ रे । कस्तो खालको चोर रहेछ । धम्की दिँदै चोरी गर्छु भन्दैछ । कहाँका मान्छे होला यस्तो गर्ने ?’

तर, बाँके प्रहरीले चेतावनी दिइएजस्तो चोरी भएको अहिलेसम्म रिपोर्ट नआएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातली यसरी चेतावनी दिइएको विषयमा सामाजिक सञ्जालमा आएका पोष्टहरूबाहेक थप गतिविधि भएको जानकारी नरहेको बताए । उनले यस्तो चेतावनी दिएको ठाउँमा प्रहरीले निगरानी बढाएको, रात्री गस्ती गरिरहेको र प्राप्त सूचनाहरूको विश्लेषण गरिरहेको बताए । सम्भावित चोरी रोक्न प्रहरी सक्रिय भएर लागिरहेको डीएसपी पातलीले दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार