कोहलपुर (बाँके) ।
जेनजी आन्दोलनका कारण देशभरबाट १३ हजार बढी कैदीबन्दी कारागारबाट भागे । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र सुधारगृहबाट ती कैदीबन्दीहरू भागेका थिए । पछिल्लो समय देशको अवस्था सामान्य हुँदै गएपछि प्रहरीले कैदीबन्दी पक्राउ गरिरहेको छ । केन्द्रीय कारागारदेखि जिल्लाभरका कारागारबाट भागेका कैदीबन्दीहरूलाई फर्किन अपिल गरिरहेका छन् ।
सो क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट समेत सयौँ कैदीबन्दी भागेका थिए । लुम्बिनीका १२ मध्ये चार जिल्लाबाट कैदीबन्दी भागेका थिए । नवलपरासी, कपिलवस्तु, दाङ र बाँके कारागार र बाल सुधारगृहबाट कैदीबन्दी र बालबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कारागार कार्यालय नौवस्ता, बाल सुधारगृह नौवस्ता र जयन्दु बाल सुधारगृह हिरमिनियाबाट सयौँको सङ्ख्यामा कैदीबन्दीहरू भागेका थिए । उनीहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दीपक पालतीले कारागार कार्यालय नौवस्तामा रहेका कूल ५८५ कैदीबन्दीमध्ये आन्दोलनका क्रममा कारागारबाट १४७ जना भागेका बताए । उनका अनुसार हालसम्म २१ जनालाई पक्राउ गरिएको छ । अझै १२६ जना कैदीबन्दी फरार छन् । बाल सुधारगृह नौवस्तामा रहेका कूल १७६ जनामध्ये ७८ जना फरार रहेका छन् । हालसम्म २१ जना बालबन्दीलाई पक्राउ गरिएको सूचना अधिकारी पातलीले बताए ।
नौवस्तामा बालबन्दीहरू भाग्न खोज्दा सुरक्षाकर्मी र उनीहरूबाट झडप भएको थियो । सो क्रममा गोली चल्दा ५ जना बालबन्दीको मृत्युसमेत भएको थियो । दुई जना घाइतेको अझै उपचार भइरहेको छ । यस्तै, जयन्दु बाल सुधारगृह हिरमिनियामा २१४ जना बालबन्दी थिए । त्यहाँबाट भागेकामध्ये हालसम्म २९ जनालाई पक्राउ गरिएको सूचना अधिकारी पालतीको भनाइ छ । ‘बाँकेका विभिन्न क्षेत्रबाट भागेकाहरूको खोजीकार्य जारी छ । अधिकांशलाई प्रहरीले पक्राउ गरेको छ । केही त आफैँ सम्पर्कमा आउनुभएको छ ।
कोहीलाई चाहीँ अभिभावकहरूले नै पु¥याइदिने गर्नुभएको छ । सम्र्पकमा आउन अझै धेरै बाँकी छन् । उनीहरूलाई पक्राउ गर्न जिल्लाभरका युनिटहरूलाई निर्देशन जारी गरिएको छ ।’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । यस्तै तुलसीपुर कारागार दाङबाट फरार भएकामध्ये १३२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । डीएसपी चक्रबहादुर शाहले अझै १२१ जना फरार रहेका बताए । तुलसीपुरबाट कूल ४६९ जनामध्ये २५३ जना कैदीबन्दी भागेका थिए ।
उनले भने, ‘अझै धेरै सङ्ख्यामा कैदीबन्दी फरार छन् । उनीहरूलाई पक्राउ गर्दैछौँ । प्रहरी खटिरहेको छ ।’ यस्तै, जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार कारागारमा रहेका ५७५ जना कैदीबन्दीमध्ये ५४६ जना कैदीबन्दी भागेका थिए । हालसम्म १७३ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । नवलपरासी कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउनका लागि जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक सूचना जारी गरिएको उनले बताए । उनी भन्छन्, ‘कतिपय आफैँ आएका छन् ।
अभिभावकहरूले समेत हामीलाई बुझाउनुभएको छ । अन्यलाई प्रहरी आफैँले पक्राउ गरेको हो । अझै पक्राउ गर्ने क्रम जारी छ ।’ कारागारबाट भागेकामध्ये दुई जनालाई बाहिरी जिल्लाबाट पनि पक्राउ गरिएको छ । एक जना चितवनबाट र एक जना दाङबाट प्रक्राउ परेका उनले बताए । यसैगरी, कपिलवस्तु कारागार र अन्य बाहिरी जिल्लाका कारागारबाट भागेर कपिलवस्तु आएका कैदीबन्दीहरूलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
हालसम्म जिल्लामा पक्राउ पर्नेको सङ्ख्या २४६ जना रहेको छ । तीमध्ये अहिलेसम्म कपिलवस्तु कारागारमा ११० जना आफैँ हाजिर भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । हालसम्म पक्राउ परेकामध्ये जिल्ला प्रहरीले कार्यालयले कारागारलाई २६ जना बुझाएको छ। इलाका प्रहरी कार्यालय पिपराले १४, इलाका प्रहरी कार्यालय गोरुसिंगेले २६, एपीएफले २२, इलाका प्रहरी कार्यालय पकडीबाट ६ जना र गणेशपुरबाट ३ जनालाई कारागार बुझाइएको डीएसपी रितेन्द्रबहादुर सिंहले बताए । कारागारबाट भागेका कूल ४३० जनामध्ये अझै २१३ जना फरार रहेका छन् । हाल कारागारमा २६८ जना कैदीबन्दी रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्