श्याामलाल पोखरेल । बुटवल ।
लक्ष्मीनगर विकास केन्द्र बुटवल ४ र विभिन्न पाँच वटा टोल विकास संस्थाले समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न सबैसँग हातेमालो गर्ने भएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठले देशमा शान्ति सुरक्षाको अवस्था कमजोर हुँदा आमनागरिकले शान्ति सुरक्षाको महसुस गर्न नसकेको लक्ष्मीनगर विकास केन्द्र र टोलविकास संस्थाहरूको संयुक्त बैठकले ठहर गरेको छ ।
बैठकले जेनजीको नाममा यो व्यवस्थालाई नै कमजोर बनाउन खोजिएकाले सुरक्षाको अवस्था झनै कमजोर बनेको समेत ठहर गरेको छ ।बुधबार लक्ष्मीनगर विकास केन्द्र बुटवलका अध्यक्ष गोकर्णप्रसाद ज्ञवाली, उपाध्यक्ष गंगा पन्थी, महासचिव दुर्गादत्त सिग्देल, सचिव निर्मला गुरुङ तथा बुटवल ४ मा क्रियाशील लक्ष्मी टोल विकास संस्था ‘क’की अध्यक्ष गंगा पन्थी, लक्ष्मी टोल विकास संस्था ‘ख’की अध्यक्ष अनिता छन्तेल, लक्ष्मी टोल विकास संस्था ‘ग’की अध्यक्ष किरण थापा, श्रीनगर टोल विकास संस्थाकी अध्यक्ष कमला सुवेदी र कञ्चन टोल विकास संस्थाकी अध्यक्ष राधिका शाहीको संयुक्त बैठकबाट शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न सबै पक्षसँग सहकार्य गरी काम गर्ने निर्णय गरिएको छ ।
सरकारले बन्द गरेको सामाजिक सञ्जाल सञ्चालन गर्न, भ्रष्टाचारविरुद्व र सुशासन कायम गर्नका लागि जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा ७३ जनाले ज्यान गुमाएको घटनाप्रति संयुक्त बैठकले दुःख व्यक्त गरेको छ । उक्त बैठकले आन्दोलनका क्रममा बलिदान दिएका युवाप्रति श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै बलिदान दिएका युवाहरूलाई सहीद घोषणा गर्न र घाइतेको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
आन्दोलनका क्रममा व्यवसायिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति तथा प्रहरी बिटहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन संयुक्त बैठकले राज्यलाई आग्रह गरेको विकास केन्द्रका अध्यक्ष ज्ञवालीले मिसन टुडेलाई बताए । जेनजीको आन्दोलनपछि नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति नगरेकाले गाउँगाउँ र टोलटोलबाट शान्ति सुरक्षा कायम गर्नका लागि टोल विकास संस्थाहरूले राज्यलाई आग्रह गरेका छन् ।
जेनजीका जायज मागहरूलाई छिटो सम्बोधन गरेर नागरिकलाई प्रत्याभूति हुने गरी शान्ति सुरक्षा कायम गर्नुपर्ने र त्यसका लागि स्थानीय प्रहरी प्रशासनलाई सहयोग पुराउने लक्ष्मीनगर विकास केन्द्र बुटवलका अध्यक्ष गोकर्णप्रसाद ज्ञवालीले बताए । दसैँलगायतका पर्वहरू नजिकिँदै गर्दा चोरी, डकैती र लुटपाटको जोखिम बढ्न सक्ने भएकाले सुरक्षाका लागि प्रहरी प्रशासनसँग समन्वय र सहकार्य गर्नुको विकल्प नभएको केन्द्रकी उपाध्यक्ष गंगा पन्थीले बताइन् ।
उपाध्यक्ष पन्थीले शान्ति सुरक्षाका लागि सबै टोल विकास संस्था, आमासमूह, विभिन्न सामाजिक संघसंस्था र प्रतिष्ठानहरूलाई सक्रिय बनाउन स्थानीय सरकारहरूलाई आग्रह गरिन् । सबै वर्ग समुदाय, संघसस्था र टोल विकास संस्थाहरूले शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्ने बेला आएको टोल विकास संस्थाका अध्यक्षहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्