नेपालगन्ज ।
नेपालगन्जमा एक सय ५७ वर्ष अघिदेखि मञ्चन हुँदै आएको रामलीला नाटक यस वर्ष मञ्चन नहुने भएको छ । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाका अनुसार जेनजीको आन्दोलनपश्चात् देशमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै रामलीला मञ्चन नगर्ने निर्णय गरिएको छ ।
हरेक वर्ष दसैँको अवधिमा मञ्चन हुँदै आएको रामलीलामा सुरक्षाको प्रबन्धका लागि पनि यस वर्ष चुनौती खडा हुनसक्ने देखिएकोले मञ्चन स्थगित गर्नुपरेको कनोडियाले बताए । रामलीला राति आठ बजेपछि सुरु हुने भएकोले मानिसहरूले असुरक्षा महसुस गरेर सहभागिता कम हुने अवस्था देखिएको पनि उनले बताए ।
रावण दहनका बेला हजारौँको सङ्ख्यामा मानिसहरू नेपालगन्ज वडा नम्बर ९ स्थित रामलीला मैदानमा भेला हुने गरेका छन् । जहाँ नेपालगन्जमात्रै नभई भारतबाट पनि मानिसहरू मेला हेर्न आउने गरेका छन् । दश दिनसम्म रामायणमा आधारित रामलीला धारावाहिकरूपमा मञ्चन गर्ने गरिन्छ ।
नाटक मञ्चनका लागि भारतबाट कलाकारहरू ल्याउने गरिन्छ । उक्त रामलीला मञ्चन हेर्नका लागि हिन्दु धर्मावलम्वीसहित सबैजसो धर्मावलम्वीहरू रामलीला मैदान पुग्ने गरेका छन् । दसैँका बेला मञ्चन हुने रामलीला नेपालगन्जमा साँस्कृतिक गतिविधिको एक महत्वपूर्ण अंगका रूपमा स्थापित भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्